जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १३:२९

अध्यादेश र सभामुखको मुद्दा हेर्न नभ्याइनेमा


काठमाडौं, पुष ३

सर्वोच्च अदालतको संवैधानकि इजलासको पेशीमा परेको दुई महत्वपूर्ण मुद्दा हेर्न नभ्याइनेमा परेका छन् । संवैधानिक परिषद् सम्वन्धि अध्यादेश र सभामुख अग्नि सापकोटाविरुद्ध परेको अवलेहनाको मुद्दामा आज पेशी तोकिएको थियो । तर, दुवै मुद्दा हेर्न नभ्याइनेमा परेका हुन् ।

सभामुख सापकोटाविरुद्धको फौजदारी अवहेलना मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । यसअघि दुई पटक उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । १० महिनाअघिसम्म पटक–पटक हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाई आज संवैधानिक पूर्ण इजलासमा हुन लागेको थियो । यसअघि ३० फागुन ०७६ मा पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

यस्तै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै दायर रिटमाथि आज सुनुवाइ हुने भनिएको थियो । तर, सो मुद्दालाई पनि हेर्न नभ्याइनेमा राखिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर घोषित गर्न माग गर्दै रिट दायर गरेका थिए । अब यी दुवै मुद्दा बुधबार मात्र पेशी तोकिने सम्भावना रहन्छ । संवैधानिक इजलास शुक्रबार र बुधबार मात्र तोकिने गरेको छ ।