काठमाडौं, पुष ३
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अब फुटको संघारमा पुगेको बताउनु भएको छ । अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेको प्रचार गरेपनि दुवै जनाले अब सँगै बस्न सक्ने अवस्था नआएको बताउदै आफ्नो क्षेत्रको आंकलन अहिलेबाट गर्न आफु निकट नेताहरुलाई निर्देशन दिनु भएको हो ।
पेरिसडाडाँमा शुक्रबार प्रदेश–१ का आफु निकट जिल्ला अध्यक्ष र सचिवको भेलालाई सम्वोधन गर्दै ओलीविरुद्ध लाग्नुपर्ने कारण समेत रोचक कहानीका रुपमा प्रस्तुत गर्नुभएको छ । दुवै नेताले पार्टीमा विधि, विधान र पद्धति कसरी स्थापित भएन भनेर प्रस्तुत गर्नुभन्दा आफुहरुलाई कुर्सीबाट कसरी हटाइयो भनेर दुखेसो पोख्नु भएको थियो । गुट भेलालाई पहिले नेता नेपालले सम्बोधन गर्नुभएको थियो । उहाले आफुलाई पार्टीमा पेलान भएकाले ओलीविरुद्ध विद्रोहमा उत्रिएको खुलासा गर्नुभएको छ । प्रचण्डसँग मिलेर ओलीले आफुलाई जिम्मेवारीविहीन बनाएकाले अब पार्टीमा बेइज्ज सहेर नबस्ने बताउनु भयो ।
नेता नेपालले मिडियाप्रति पनि आक्रोश पोख्दै आफ्नो विरोध गरेमा असन्तुष्टि जनाउनु भएको एक नेताले उपलब्ध गराएको अडियोमा सुनिन्छ । मिडियाका बारेमा उहाले यसो भन्नुभयो, ‘अहिले ओलीले राज्यशक्तिको दुरुपयोग गरेर, अव्यावसायिक मिडिया हाउस,अव्यवसायिक पत्रकारको पंक्ति खडा गरेर,पत्रकार खरिद गरेर पार्टीभित्र भएका छलफल र सहमतिलाई तोडमरोड गर्न लगाएर गलत कुरालाई सही साबित गर्न अनेकौं प्रचारबाजी गर्दैछन् । वास्तवमा ओली गोयबल्सको प्रचारशैलीमा लागेका छन् । पार्टीभित्र यो अहिलेको परिस्थिति निर्माण गर्ने केपी ओलीनै हो । प्रचण्डजीलाई म केही भन्दिन ।’
नेता नेपालको भाषणपछि बोल्नु भएका प्रचण्डको पिडा पनि उस्तै छ । उहाले आफुले ओलीलाई एक नम्बर अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री हुनुस् भनेर छाडेको बताए । तर, हुँदा हुँदा आफुलाई सचिवालयमा सात जना बस्न पठाएको भन्दै दुखेसो पोख्नु भयो । ‘उहाँले जिद्दी गर्दै जानुभयो, मैले छाड्दै गएँ । उहाँले भनेको मान्दै मान्दै गएँ । प्रधानमन्त्रीको पूरै कार्यकाल मलाई चाहियो भन्नुभयो त्यो पनि मान्दिएँ’, उहाले अगाडी सुनाउनु भयो, ‘अन्तिममा त मलाई नै घोक्रेठ्याक लाएर कुर्सीबाटै निकाल्दिए । मलाई त रबरस्टाम्प जस्तै बनाइदिए ।’
उहाले परिस्थितिले माधव नेपाल र आफुलाई एक ठाउँमा ल्याएको भन्दै भन्नुभयो, ‘केपी ओलीका सबै तरिका र व्यवहार हेर्दा एउटै पार्टीमा बस्ने खालको छैन, अलग पार्टी बनाउने कोशिस भइरहेको छ । कहिले गर्नुहुन्छ तर उहाँको तरिकाले म अलग बस्छु भन्ने बताइरहेको छ । कहिले फुटाउने भन्नेमात्रै हो ।’













प्रतिक्रिया दिनुहोस्