जनता टाइम्स

५ पुष २०७७, आईतवार ११:२३

यसकारण भयो संसद विघठनको सिफारिस


काठमाडौं, पुष ५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघठनको सिफारिस गर्नुभएको छ । नेकपाभित्रको लामो किचलोले गर्दा सरकार र पार्टी दुवै विवादको घेरामा तानिएका थिए । नत पार्टीले सरकारलाई काम गर्न दियो न त सरकारले दिल खोलेर काम गर्न पायो । यो खिचातानीले गर्दा पटक पटक पार्टी फुट्यो फुट्यो भन्ने अवस्था पुग्यो भनेर स्वयम नेकपाका नेता कार्यकर्ता पुगेका थिए ।

तर, आइतवार विहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भयो । कसैले पनि संसदको विघठनको सुइको पाएका थिएनन् । स्वयम मन्त्री पनि किन बोलाइयो भनेर गाइगुई गर्दै थिए । आखिर कसरी पुगे त प्रधानमन्त्री संसद विघठनको तयारीमा । आइतबार विहानै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालका नेताबाट बालुवाटारमा सूचना आयो । आज सो पक्षले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी हस्ताक्षर संकलन हुदैछ । सो सूचना निक्कै भरपर्दो थियो । सूचना थाहा पाउने वित्तिकै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

प्रचण्ड–नेपाल पक्षले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरेको भेट, जनता समाजवादी पार्टीले शनिवार कांग्रेससँग गरेको भेट बाहिरि देखावटी एउटा भएपनि भित्रि कुरो अर्कै थियो । प्रधानमन्त्री ओलीले शनिवार प्रचण्डसँगको भेटमा पनि प्रष्ट कुरा राख्नु भएको थियो । उहाले कुनै अप्रिय कदम चाले त्यो इतिहासका लागि भूल हुने भन्दै फर्किनु भएको थियो । तर, आइतवार विहानै प्रचण्ड पक्षका एक नेताले हस्ताक्षर संकलन शुरु गरेपछि ओली झस्किनु भएको थियो ।

प्रचण्ड–नेपाल पक्षले लामो समयदेखी यो तयारी गरेको जनताटाइम्सले खुलास समेत गरेको थियो । नयाँ बानेश्वरमा कानुन व्यवासायीहरुसग छलफल गरेर राष्ट्रपतिलाइ कसरी महाअभियोग लगाउने भनेर राय मागेका थिए । पछिल्लो पटक अब ढिला गर्न नहुने र जसरी भएपनि महाधिवेशन अगाडी अध्यक्ष र निर्वाचन अगावै प्रधानमन्त्री र राष्ट्रपति पद बाडेर खाने नेकपामा लहड चलेका थियो ।
प्रधानमन्त्रीले संसद विघठनको तयारी थाहा पाएपछि प्रचण्ड आज विहान बालुवाटार पुग्नु भएको थियो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनमा जाने र संसद बिघटन गर्नुपर्ने कारण सहित सुनाउँदै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी गराउनु भएको थियो । केही मन्त्रीले बोल्न खोजे पनि प्रधानमन्त्री बैठकस्थलबाट बाहिरिनु भएको थियो ।

मन्त्रिपरिषद बैठक लगत्तै प्रचण्डसँग ओलीको भेट भएको थियो । प्रचण्डले ‘तपाईले यो के गरेको ? यस्तो अविश्वास पनि तपाईले गर्ने हो हामीसँग ? भन्दै संसद बिघटनको निर्णय स्वीकार्य नहुने जानकारी गराउनु भएको खुमलटार स्रोतले जानकारी दियो ।