जनता टाइम्स

६ पुष २०७७, सोमबार ११:५२

माधव नेपाललाई निर्बश्त्र बनाउने यो तथ्य


माधव नेपालजी सुनामीपीडित, अशक्त असहाय र सिमान्तीकृत जनताका लागि र भूकम्पपीडित जनताका लागि ओली सरकारले अढाइ वर्षमा ७ लाख आवास निर्माण गरिदिएको पहिले कहीँ कतै सुन्नुभएको थियो ? भारतबाट पाइप लाइनबाट पेट्रलियम आयात गर्दा देशलाई वार्षिक कति करोड नाफा भएको थाहा छ ? रानी पोखरी उद्घाटन भयो, हेर्न जानुभयो ? आधुनिक धरहरा निर्माण सम्पन्न हुँदैछ थाहा छ ? यही सरकारले कतिवटा पुलपुलेसा, पिच, अन्तराष्ट्रिय बिमानस्थललगायत अनेक काम गरेको छ सुन्नुभएको छ ? अहिले तराईका राष्ट्र विखण्डनकारी कहाँ छन् थाहा छ कमरेड ? अहिले सरकारले गरेका विकास निमाणका सबै विवरण आरम्भ नामक पुस्तिकामा उल्लेख गरिएको छ । यो हेर्नुभयो भने तपाईं आफैँ मूर्छा पर्नुहुन्छ

प्रा.डा.बद्रीविशाल पोखरेल

बमुहतप्राप्त सरकारलाई कामै गर्न नदिएर जनतामाथि अपमान गर्ने काम जारी राख्दै कूको बाटो लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतका लागि चुनावको बाटो रोज्नुभएको छ । प्रधानमन्त्रीको यो निर्णय लोकतन्त्र र मुलुकको रक्षाका लागि बाध्यात्मक कदम हो । घटनाक्रमले संसद विघटनको मूल कारक माधवकुमार नेपाल हुन भन्ने कुरा अझ स्पष्ट भएको छ । नेपालले पुष्पकमल दाहाल प्रचण्डलाई ओली सित मिल्न नदिन ज्यान फालेर लागेको देखियो । एक लाखमा इमान्दार हुने मानिस करोड र अर्व रकममा बेइमान हुन्छ र हुँदोरहेछ । माओले जीवनको एउटा कालखण्डमा मात्र होइन, जीवनभर इमान्दार हुनुपर्छ भन्नुभएझैँ माधव नेपालले जीवनको उत्तराद्र्धमा कम्युनिष्ट नामको देखावटी इमान र आदर्श नग्न रुपमा प्रकट भयो । ओलीलाई आफ्ना स्वार्थमा उपयोग गर्न सिपालु नेपालले जब नवौँ महाधिवेशनका बेला ओलीलाई मृत्यु शैयामा रहेकोसम्म भन्न भ्याएका थिए ।

आफूलाई देशको अब्बल इमान्दार भन्ने स्वघोषणा गर्ने माधव नेपाल आफू प्रधानमन्त्री हुँदा मन्त्रिमण्डलको बैठक समेत छलेर बालुवाटार जग्गा अनियमितताका प्रकरणमा प्रामाणिक रुपमा मुछिएपछि आफैँ त्रसित भएको सवैलाई थाहा भएकै बिषय हो । अब नेपाल यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिए भने कुनै अनौठो हुनेछैन । नेपाल आफ्नै पार्टीको स्थिर सरकार गिराएर देशमा चरम अस्थिरता, अराजक र अस्तव्यस्त बनाउन विगत दुई वर्षअघिदेखि नै लागेका थिए । उनले प्रचण्डलाई मोहरा बनाएका हुन् । माधव नेपाल प्रचण्ड र ओलीका बीच कुनै खालको सहमति र समझदारी नहोस भनेर ज्यान फालेर लाग्नु पर्ने मूल कारण यो हो । आखिरमा नेपालले कम्युनिष्ट आवरणमा आजसम्म लुकाएको विजातीय आवरण खुलस्त हुन गएको छ ।

नेकपाका स्थायी समिति सदस्य मणि थापाले एकीकरणमा सजातीय मात्र होइन, विजातीय तत्व पनि समावेश भएको हनसक्छ भन्नु भएझैँ कम्युनिष्ट नामका विजातीय तत्वहरु देखापर्न थालेका छन् । नेता मणि थापाले एक वर्ष अघि पेरिसडाँडामा भएको स्रष्टा तथा कलाकार भेलामा साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरु नेपालको कम्युनिष्ट आन्दोलनभित्र पसेर यसलाई लामो समयदेखि अन्तध्र्वंश गरिरहेको शिक्षाबाट अहिले अत्यन्त सचेत भएर लाग्नुपर्छ भन्नुभएको यथार्थ अहिले छर्लङ्ग हुँदैछ । देश विखण्डन, विभाजन र विश्रृङ्खलताको अत्यन्त संगीन मोडमा खडा रहेको धेरै परिघटनाहरुले बताउँछ । नेकपा विभाजन र यसले नेतृत्व गरेको सरकार अप्रकृतिक रुपमा विघटन गर्दा देश चरम अस्थिरताको दलदलमा पर्ने कुरा नेकपा इतरका नेता, विचारक र विश्लेषकहरुले बताइरहेका छन । तर त्यहीँ माधव नेपाल जस्ता नेताहरु ओली फोवियाका कारण देशमा अस्थिरता र अराजकताका खातिर मरिमेटेर लागेको परिणाम संसद् विघटन हो । राष्ट्रपतिलाई महाभियोग लगाउने र प्रधानमन्त्रीलाई अपदस्त गर्न माधव नेपालहरु तत्पर भएपछि चरम अराजकताविरुद्ध मुलुकको स्थयित्वका लागि संसद् विघटनको अप्रिय निर्णय गर्नुपर्ने बाध्यता देखियो प्रधानमन्त्री ओलीमा । माक्र्सवादको कुरा गर्ने, पार्टी एकताको कुरा गर्ने अनि देश र जनताको भाग्य र भविष्यको कुरा कथुर्ने नेपाल त्यसको ठीक उल्टो काममा भित्रभित्रै कन्दनी कसेर लागिरहेकै थिए ।

माधव नेपाललगायत केही नेताहरुलाई नेका युवा नेता चन्द्र भण्डारीको जत्ति पनि शुद्धिबुद्धि नभएको देखिन्छ । भण्डारीले एक अन्तर्वार्तामा चुच्चे नक्सा नेपालको नक्सामा समावेश गरेपछि भारतीय शासकका इसारामा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रपञ्च गर्छन भन्नुभएको थियो । नभन्दै बीपी विरासद्का एक युवा हस्ती भण्डारी आफ्नै पार्टीका उपल्ला तहका नेताहरुबाट बन्धक बनेका अवस्थामा संसद् विघटन वाध्यता रहेको बताउनु हुन्छ । नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा नेताका कारण पार्टी विभाजन हुँदा र स्थायी सरकार विघटन हुनु देश र जनताको दुर्भाग्य हो भन्नुभएको छ । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रधानमन्त्री ओली भारतीय शासकको स्वार्थअनुसार नचल्दा उहाँलाई हटाउने खेल जारी रहेको एक मिडियामा बताउनु भएको छ । मधेशका बिश्लेषक डा. राजेश अहिराज र माननीय मन्त्री हृदयेश त्रिपाठीसमेत यो सरकार गिराउनु भनेको प्राप्त उपलब्धि र प्राप्ति समाप्त पार्ने खेल हो भनिरहनु भएको छ ।

प्रधानमन्त्री ओलीलाई सबै दोषरोपण गर्ने माधव नेपालहरुले पुष्पकमल दाहाल प्रचण्डलाई दुधले धोएको भन्न खोज्दै उहाँको आरती उतारेको देखिन्छ । पूर्वनेकपा माओवादी केन्द्रका कारण पार्टी केन्द्रका धेरैजसो आयोग, विभागहरु पूरा हुन सकेका छैनन् । कतिपय स्थानीय तहमा पार्टी एकीकरणका कामहरु माओवादीकै कारण सम्भव हुन सकेका छैनन । यी सबै कामका लागि ओलीलाई दोष दिएर पन्छिन खोज्ने नेपाल अन्तरिम विधानको गलत व्याख्या गर्न दुस्साहस गरिरहेको देखिन्छ ।

माधव नेपाल प्रधानमन्त्री हुँदा तुइनबाट ज्यान जोखिममा राखेर ओहोर दोहोर गरेको दूर दराजका जनताको दुःख देख्नु भएन । तर ओलीले देख्नुभयो र अधिकांश तुइन विस्थापित भइसकेका छन । यो एउटा सामान्य उदाहरण मात्रै हो । माधव नेपालजी सुनामीपीडित, अशक्त असहाय र सिमान्तीकृत जनताका लागि र भूकम्पपीडित जनताका लागि ओली सरकारले अढाइ वर्षमा ७ लाख आवास निर्माण गरिदिएको पहिले कहीँ कतै सुन्नुभएको थियो ? भारतबाट पाइप लाइनबाट पेट्रलियम आयात गर्दा देशलाई वार्षिक कति करोड नाफा भएको थाहा छ ? रानी पोखरी उद्घाटन भयो, हेर्न जानुभयो ? आधुनिक धरहरा निर्माण सम्पन्न हुँदैछ थाहा छ ? यही सरकारले कतिवटा पुलपुलेसा, पिच, अन्तराष्ट्रिय बिमानस्थललगायत अनेक काम गरेको छ सुन्नुभएको छ ? अहिले तराईका राष्ट्र विखण्डनकारी कहाँ छन् थाहा छ कमरेड ? अहिले सरकारले गरेका विकास निमाणका सबै विवरण आरम्भ नामक पुस्तिकामा उल्लेख गरिएको छ । यो हेर्नुभयो भने तपाईं आफैँ मूर्छा पर्नुहुन्छ ।

अझ माक्र्सवादी द्वन्द्ववादको सर्वथा विपरीत आफ्नै पार्टीको सरकारले केही काम गरेको नदेख्नु र पूरै अन्धवादी दृष्टिकोणका आधारमा सार्वजनिक मिडियामा सत्तो सराप गर्नु कुन कम्युनिष्ट नैतिकता हो ? माधव नेपालले माओले भनेझैँ प्राप्ति र उपलब्धी बेस्सरी नसमाती उल्टो तिनलाई खुइल्याउन न्वारानदेखिको बल लगाइरहँदा राजावादीहरु हौसिएका हुन र यस्ता कृत्यले आम जनतामा क्षणिक निराशा उत्पन्न भएको हो । तर यो निराशा धेरै दिन टिक्न सक्नेछैन । नेकपाका संस्थापक महामन्त्री पुष्पलाललाई २०१० सालमा गरिने पहिलो महाधिवेशनसम्म देख्न नपाई षडयन्त्रपूर्वक २००९ सालमा पोलिटब्युरोको बहुमतले महामन्त्रीबाट हटाएको थियो र महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरिएको थियो । माधव नेपालहरु आगामी चार महिनापछि हुने एकता महाधिवेशनसम्म पर्खिने धैर्यता नराखी ओलीलाई दुवै पदबाट अपदस्त गर्न खोज्दाको परिणाम संसद् विघटन हो ।

इतिहास साँक्षी छ, माधव नेपाल नितान्त निजी पद प्रतिष्ठाका लागि जे जस्तो पनि काम र कदम गर्न सक्छन भन्ने देखिन्छ । उनी आफूबाहेक अरु कसैलाई योग्य देख्दैनन् । वरिष्ठ पत्रकार पी खरेलले माधव नेपालले भारतीय शासकसित अनुनय गरेर छोरीलाई भारतमा उच्च शिक्षाको छात्रवृत्ति समेत दिलाएको बताउनु भएको छ । राधाकृष्ण मैनालीले नलेखिएको इतिहास नामको पुस्तकको पृ.१२३.२४ मा ०४६ सालमा भारतीय सशस्त्रधारीको सहयोगमा गणतन्त्र ल्याउनुपर्छ भनेर तत्कालीन माले पार्टीको बैठकमा दुई पटक प्रस्ताव राखेका थिए । मैनालीका अनुसार बैठकमा नेपालले आफूलाई भारतीय विश्वस्त सूत्र अनुसार जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए ।

त्यसैले संसद् विघटन अहिले अप्रिय लागे पनि देशलाई अस्थिरताबाट जोगाउन, नेपाललाई फिजीकरण हुनबाट बचाउन र परोक्ष वा प्रत्यक्ष रुपबाट हुने वैदेशिक हस्तक्षेपलाई निस्तेज पार्न चालिएको संबैधानिक कदम हो । भारतीय नाकाबन्दीका कारण नेपालले चीनसित असम्भव ठानिएको पारवहन तथा वाणिज्य सन्धी सम्पन्न भएको थियो । अब यस खालका अस्थिर गतिविधि नेपालमा जारी राख्न भित्री रुपमा सहयोग गर्दा नेपाल अझ चीनसित नजिकिने सम्भावनाबाट भारतीय शासक अझ झस्किएको हुनुपर्छ । कहिले काहीँ झट्ट हेर्दा नकारात्मक जस्तो लाग्ने कामबाट सकारात्मक परिणाम प्राप्त हुन्छ । राजनेताले जस्तासुकै प्रतिकूलतालाई अनकुलतामा बदल्ने आँट र अठोट गर्छ । अहिले त्यस्तै अवस्था टड्कारो देखिन्छ । जुनकाम प्रधानमन्त्री ओलीले गरेका हुन ।