जनता टाइम्स

६ पुष २०७७, सोमबार १३:५०

प्रचण्ड र पूर्व सभामुख सापकोटाको जालझेल : माधव नेपालकै हस्ताक्षर दुरुपयोग, अविश्वासको प्रस्तावमा समय समेत किर्ते (भिडियो प्रमाणसहित)


काठमाडौं, पुष ६

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विघठित प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई थाहा नै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा समय किर्ते राखेर दर्ता गराएको खुलेको छ । प्रचण्ड पक्षले सार्वजनिक गरेको दर्ता समयमा १० बजेर ५० मिनेटको समय राखिएको छ ।

सो प्रस्तावको ३ नम्बरमा नेता नेपालको हस्ताक्षर रहेको छ । तर, अविश्वासको प्रस्ताव दर्ता भएको भनेर भनिएको समय भन्दा पछाडी ११ बजे माउन्टेन टेलिभिजनले उहाकै निवास कोटेश्वर पुगेर लिएर अन्तर्वार्तामा उहाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राखेको कुरा हल्लामात्र भएको र त्यस्तो कुनै निर्णय नै नभएको स्पष्ट पार्नुभएको छ । सुन्नुहोस् उहाको यो अन्तर्वार्ता

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले समेत विहान कोही पनि अविश्वासको प्रस्ताव दर्ता गर्न नआएको स्पष्ट पार्नुभएको छ । उहाले सो प्रस्ताव अपरान्ह साढे ३ बजे दर्ता भएको खुलाउनु भएको छ । प्रचण्ड पक्षले हस्ताक्षर पनि किर्ते गरेको खुलेको छ । संसद अधिवेशन बोलाउन भनेर गरिएको हस्ताक्षर अविश्वासको प्रस्तावका लागि पेश भएपछि कतिपय सांसद पनि रुष्ट बनेका छन् । राजधानीमा नभएका सांसदको समेत त्यहा हस्ताक्षर रहेको छ ।

अविश्वासको प्रस्तावमा तत्कालिन एमालेको माधव नेपाल खेमाका शेरवहादुर तामाङ, यज्ञ बोगटी र बिमला विकले हस्ताक्षर गरिएको भनिएपनि उहाहरु आज प्रधानमन्त्री ओलीले बोलाएको बालुवाटारको बैठकमा सहभागी हुनु भएको थियो । त्यस्तै पूर्व माओवादीका छक्कवहादुर लामा पनि बैठकमा हुनुहुन्थ्यो । उहाहरुले बिगतमा अर्कै प्रयोजनमा गरिएको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न प्रयोग भएको प्रतिक्रिया दिनु भएको छ ।