जनता टाइम्स

६ पुष २०७७, सोमबार १६:१४

पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिए बामदेव गौतम, प्रचण्ड–माधवले जोडबल गर्दा पनि गरे गुटभेला बहिष्कार


काठमाडौं, पुस ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बोलाएको भेला बहिष्कार गर्नुभएको छ । पार्टी फुटाउने गुट भेलामा आफू सहभागी नहुने भन्दै उपाध्यक्ष गौतमले प्रचण्ड–माधव समुहले संसद भवनमा बोलाएको राष्ट्रियसभा र बिघटित प्रतिनिधिसभा सदस्यहरुको भेलामा अनुपस्थित हुनुभएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहनुभए पनि उपाध्यक्ष गौतम आजको भेलामा नजानुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यस्तै गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा प्रचण्ड आफै निवासमा पुगेर बोलाउँदासमेत अनुपस्थित हुनुभयो । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भएको भेलामा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्रै सहभागी हुनुभएको हो ।

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको भेलामा पनि दुवै नेता सहभागी हुनुभएको थिएन । यद्यपी गृहमन्त्री थापा सरकारमै बस्ने निर्णय सुनाएर प्रचण्ड–माधवको अबैधानिक काममा नलाग्ने घोषणा गरिसक्नु भएको छ । उपाध्यक्ष गौतम सचिवालयका पाँच शीर्ष नेताहरुको छलफलमा सहभागी हुँदै आएपनि प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेलामा सहभागी नहुनुभएको हो ।

नेकपाका आम नेता कार्यकर्ताले प्रचण्ड–माधव समुहलाई पार्टी बिभाजनकारी समुहको रुपमा बुझेको कारण उपाध्यक्ष गौतमले आजको भेला पनि बहिष्कार गर्नुभएको हो । स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफू निकटसँग जनमत केपी ओलीतिरै हुने निश्कर्ष सुनाउनु भएको छ । आफूनिकटसँग ओलीकै पक्षमा नेकपाका कार्यकर्ता रहने निश्कर्ष सुनाउनु र माधव प्रचण्डले निकै जोडबल गर्दा पनि नजानुले गौतम पार्टी एकताको पक्षमा दृढतापुर्वव उभिएको तथ्य देखाएको छ ।