जनता टाइम्स

६ पुष २०७७, सोमबार १६:३४

यसरी नांगै बन्यो प्रचण्ड–माधव समुह


प्रचण्ड र माधव कमरेडले प्रधानमन्त्री ओलीलाई अबैधानिक बाटोबाट ‘कू’ गरी राष्ट्रपति–प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने र सेनासमेत कब्जा गर्ने योजना बनाएका थिए, त्यो सूचना बालुवाटारमा पुगिसकेपछि प्रधानमन्त्रीले संसद बिघटन गरेको हो भन्ने कुरा उहाँहरु दुवै जनाले गर्नुभएको छ

काठमाडौं, पुस ६ । दुई बर्षदेखि ‘कू’ गर्ने योजनामा लागेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समुहले संबिधानअनुसार अघि बढाइने कुनै पनि कुरा स्वीकार्य नहुने भन्दै आफूहरु ‘कानूनअनुसार होइन, कानूनबाहिरको बाटोतिर लागेको’ प्रष्ट प्रमाण दिनुभएको छ ।

प्रतिनिधिसभा बिघटन भएपछि आज बसेको आफूनिकट पूर्वसांसदहरुको भेलामा ‘संसद बिघटन भएको छैन, प्रधानमन्त्रीले गरेको निर्णय मान्दैनौं’ भन्दै आफूहरु लोकतन्त्रमा होइन, अधिनायकवादमा बिश्वाश गर्ने समुह हौं’ भन्ने प्रमाण दिएको हो । आफू निकट सांसदको भेलापछि बरिष्ठ नेता नेपालले यस्तो घोषणा गर्नुभएको छ ।

‘संसद बिघटन भएको छैन । हामी मान्दै मान्दैनौं । प्रधानमन्त्रीले गरेको निर्णय हामीले किन मान्ने ? प्रधानमन्त्रीको निर्णयलाई मान्ने पक्षमा हामी छैनौं, मान्दै मान्दैनौं,’ भेलाको निश्कर्ष सुनाउँदै नेपालले भन्नुभयो । माधव नेपाल र प्रचण्ड दुवै जनाले चुनावमा आफूहरु जित्न नसक्ने निश्कर्ष निकालिसकेको तथ्य यो भनाईले पुष्टि गर्छ । ‘प्रचण्ड र माधवलाई चुनावमा जितिन्छ भन्ने बिश्वास एक प्रतिशत पनि छैन, त्यसैले संसद बिघटन नै भएको छैन, हामीले जे भन्यो, त्यही संबिधान हो, प्रधानमन्त्रीले चालेको कदमचाँहि ठीक होइन भन्ने कुरा सवैतिर लैजानुपर्छ,’ भेलामा दुवै नेताको निर्देशन थियो ।

प्रचण्ड–माधव समुह जसरी पनि प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाएर राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथिसमेत बिनाकारण महाअभियोग लगाउने र उपराष्ट्रपतिमार्फत शासन गर्दै नेपाली स्ेनासहित सुरक्षा निकायमा हस्तक्षेप गरी ‘जनसेना बनाउने’ योजनामा रहेको थियो । सो समुहले सेनामा भर्ना भएका आफ्ना पूर्वकमाण्डरलाई सेनापति बनाउने गरी निर्णय लिने र सेना नै कब्जा गर्ने योजनासमेत बनाएको तथ्य खुलिसकेको छ । ‘खुमलटारमै सेना समायोजनको नेतृत्व गरेका पूर्वलडाकू कमाण्डरलाई प्रधानसेनापति बनाएर नेपाली सेना कब्जा गर्ने योजना बनेको थियो, माधव नेपालसमेत त्यो योजना बनाउने काममा सक्रिय सहभागिता रह्यो,’ प्रचण्ड–नेपाल निकट एक नेताले जनताटाइम्ससँग भने ।

‘प्रचण्ड र माधव कमरेडले प्रधानमन्त्री ओलीलाई अबैधानिक बाटोबाट ‘कू’ गरी राष्ट्रपति–प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने र सेनासमेत कब्जा गर्ने योजना बनाएका थिए, त्यो सूचना बालुवाटारमा पुगिसकेपछि प्रधानमन्त्रीले संसद बिघटन गरेको हो भन्ने कुरा उहाँहरु दुवै जनाले गर्नुभएको छ,’ खुमलटारस्रोतले भन्यो । यही गैरसंबैधानिक बाटो रोजेको जानकारी पाएपछि लोकतन्त्रका पक्षधर पूर्वमाओवादी नेताहरु प्रधानमन्त्री ओलीलाई साथ दिने निश्कर्षमा पुगेको स्रोतले बतायो ।