काठमाडौं, पुष ७
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पुष्पकमल दाहाल, प्रचण्डसँग सहकार्य नगर्न नेतृत्वलाई दबाब दिन शुरु गरेका छन् । पार्टी कार्यालय सानेपामा आजबाट शुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने सदस्यहरुले अब निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन् ।
मंगलबारको बैठकमा महेश आचार्य, एनपी साउद र डा. नारायण खड्काले आफ्नो धारणा राख्नु भएको थियो । आचार्यले नेकपाको प्रचण्ड पक्षसंग सडक वा अदालत कुनैपनि स्थानमा सहकार्य गर्न नहुने भन्दै अदालतको आदेश कुर्नुपर्ने बताउनु भयो । ‘संसद विघटन प्रधानमन्त्री केपी ओलीको मात्रै कदम होइन । यो निर्णयको स्रोत प्रचण्ड र माधव नेपालपनि हुन् । यसर्थ समग्र नेकपा यो प्रकरणमा दोषी छ’ केन्द्रीय सदस्य आचार्यले भन्नुभयो ।
बैठकमा धारणा राख्नु भएका एनपी साउदले आन्दोलन अन्तिम विकल्प नभएको बताउदै भन्नुभयो, ‘संसद विघटनविरुद्ध अदालतमा मुद्धा परिसकेकोले हामीले मुद्धा दिन आवश्यक छैन । अदालतले नै यसको निरुपण गर्ने भएपछि हामी आन्दोलनमा जानैपर्ने पनि छैन । त्यसैले अब चुनावको तयारीमा लाग्नुपर्छ ।’ उहाले सरकारले गरेको कमजोरी कि त अदालतले कि त जनमतले उल्टाउने उल्लेख गर्नुभयो ।
बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य डा. नारायण खड्काले पनि आन्दोलन खतरनाक विकल्प हुने बताउनु भयो । ‘आन्दोलन डेन्जरस हुनसक्छ । भोली सबैका एजेण्डा सडकमा आउँदा हाम्रो एजेण्डा लजिकल इन्डमा नपुग्न पनि सक्छ । त्यसैले पार्टीलाई एकताबद्ध गरेर चुनावमा जानुपर्छ’, बैठकमा खड्काले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्