काठमाडौं, पुस ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आजबाट औपचारिक रुपमा बिभाजन भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक गरी महाधिवेशन आयोजक कमिटी गठन र कार्वाहीको निर्णय लिएसँगै आजबाट नेकपा औपचारिक रुपमा फुटेको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक गरी ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभएको छ । ओली पक्षले अर्का अध्यक्ष प्रचण्डलाई पनि कायमै राखेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ भने प्रचण्ड पक्षले अध्यक्ष ओलीलाई बर्खास्त गरी बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । नेकपामा प्रचण्ड पक्षमा अव माधव नेपाल प्रचण्डपछिको अध्यक्ष हुनुभएको छ ।
प्रचण्ड-नेपाल पक्षले अध्यक्ष ओलीबाहेक केन्द्रीय कमिटीमा रहेका अन्य नेतामाथि कार्वाही गरेको औपचारिक रुपमा जानकारी दिएको छैन भने स्थायी कमिटीमा पूर्वसभामुख कृष्णबहादुर महरालाई मनोनीत गरेको छ । अध्यक्षद्वय ओली र प्रचण्ड दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक राखेर लिइएको निर्णय निर्वाचन आयोगमा दर्ता गराइसकेको छ ।
केन्द्रीय कमिटी बैठकमा प्रचण्डतिर बहुमत भन्दा बढी सदस्यहरु सहभागी भएका छन भने ओली पक्षतिर अल्पमत देखिएको छ । अध्यक्ष ओलीले यो बिषयलाई पार्टी एकता गरेकै दिन आफू अल्पमतमा पर्ने गरी मनोनीत गरेको र आफैले मनोनीत गरेको ब्यक्तिहरुले बहुमत देखाएर कार्वाही गरेको भन्दै नाटकको संज्ञा दिनुभएको छ भने प्रचण्ड पक्षले केन्द्रीय कमिटीको बहुमतले जोसुकैलाई कार्वाही गर्न सक्ने बताएको छ । नेकपामा आज देखिएको दृष्यले नेकपा औपचारिक रुपमै बिभाजित भएको प्रष्टै छ ।












प्रतिक्रिया दिनुहोस्