काठमाडौं, पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीको विस्तारसँगै पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण सुरु गरेको छ । नेकपाले मंगलबारदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला सुरु गरेको हो ।
भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । नेकपाले प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ता र बक्तासमेत तोकेको छ । प्रवक्ता प्रदीप ज्ञवालीलेसूचना नै जारी गरी बक्ताहरु तोकिएको जानकारी गराउनु भएको हो ।
भेलाको संयोजनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै स्थायी समिति सदस्य र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई जिम्मेवारी दिएको छ । ओली नेतृत्वको नेकपाले हिजो (मंगलवार) भएको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ देखि ८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि महाधिवेशन आयोजक समिति गठन गरिएको छ । जसमा पार्टीको साविक केन्द्रीय समितिमा रहेका ४ सय ४७ जना, नयाँ थपिएका ५ सय ५६ जना र पछि थपिने १ सय ९६ जनागरी १ हजार १ सय ९९ सदस्य रहेका छन् । बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने पनि निर्णय गरेको छ ।
यी हुन सातै प्रदेशमा तोकिएका बक्ता
पार्टी केन्द्रीय कमिटी सदस्यमा मनाेनित कमरेडहरूलाई कार्यगत प्रशिक्षण संचालन हुने भएकाेले निम्नबमाेजिम जिम्मेवार नेताहरू खटिनुभएकाे छ ।
१.सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।
४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।
५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।
प्रदीप ज्ञवाली
प्रवक्ता
८ पुस २०७७













प्रतिक्रिया दिनुहोस्