जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १४:४७

पूर्वअर्थमन्त्री पौडेलले गरे बजेटको उच्च प्रशंसा, गलत सावित गरेर देखाउन बिपक्षीलाई चुनौती


काठमाडौं, जेठ २०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बजेट सही दिशातर्फ उन्मुख रहेको बताउनु भएको छ । प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै पौडेलले बजेटले गरिबीको अन्त्य र लोककल्याणकारी राज्यको पक्षपोषण गरेको उल्लेख गर्नुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले भन्नुभयो, ‘बजेटले सही दिशा लिएको छ ।’

राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको ‘नीति तथा कार्यक्रमको आलोकमा’ बजेट प्रस्तुत भएको भन्दै उहाँले उच्च प्रशंसा गर्नुभयोे । ‘यस वर्षको बजेट यथार्थपरक ढंगले प्रस्तुत भएको छ, विगतका अनुभव र हुलाकी राजमार्ग कार्यान्वयनको दिशामा अघि बढाउन बजेट उल्लेख्य ब्यवस्था भएको छ,’ पौडेलले भन्नुभयो । उहाँले पूर्व–पश्चि राजमार्ग अघि बढ्ने ठोकुवा पनि गर्नुभयो ।

बजेटले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गुणात्मक फड्को मार्न खोजेको पौडेलको भनाई थियो । बजेट गरिब र सीमान्तकृत वर्गका जनताको पक्षमा ‘दृढतापूर्वक’ उभिएको भन्दै पौडेलले अर्थमन्त्री डा युवराज खतिवडालाई धन्यवादसमेत दिनुभयो । बजेटले लोक कल्याणकारी राज्यको अवधारणलाई आत्मसात गरेको उहाँको भनाई थियो । त्यस्तै सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने सरकारको धारणालाई पनि समर्थन गर्नूपर्ने बताउनु भयो । सामाजिक सुरक्षा भत्ताका सम्बन्धमा बोल्दै पौडेलले यसका सम्बन्धमा टिप्पणी गर्नेलाई यसलाई गलत भनेर देखाउन चुनौति दिनुभयो ।

‘बजेट उत्कृष्ट छ, यस्का लागि अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु, बजेटले सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरेको छ, सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने काम भएको छ, सामाजिक सुरक्षा भत्ताको का सम्बन्धमा टिप्पणी गर्नेहरुले यसलाई गलत छ भनेर देखाउन म चुनौति दिन चाहन्छु,’ पौडेलले भन्नुभयो ।

बजेटले राष्ट्रिय उत्पादन तथा निर्यात वृद्धि गरी व्यापार घाटा न्युनिकरणमा सघाउने पौडेलको भनाई थियो । त्यस्तै बजेटले राजस्व नीतिमा पनि ‘संगतिपूर्ण’व्यवस्था गरेको पौडेलको भनाई थियो । पौडेलले कच्च पदार्थ एक तहको प्रशोधन गरेर मात्रै निर्यात गर्न पाउने व्यवस्था बजेटले गरेकामा खुसी व्यक्त गर्नुभयो ।

बजेटको राजश्व नीतिले मुलुकभित्र उत्पादन बढाउन सकारात्मक व्यवस्था गरेको पौडेलको भनाई थियो । बजेटलाई ‘अग्रगामी र गतिशिल सोचद्वारा प्रस्तुत गरिएको’ भनेका उहाँले राजस्व नीतिका सम्बन्धमा बजेट पनि सकारात्मक रहेको बताउनु भयो । बजेटको सफल कार्यान्वयनबाट ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकामा उक्त लक्ष्य हासिल हुने ठोकुवा पनि पूर्वअर्थमन्त्री पौडेलले गर्नुभयो । पौडेलले बजेटको सफल कार्यान्वयन भए दुई अंकको आर्थिक वृद्धि हुनसक्ने प्रक्षेपणसमेत गर्नुभयो ।

बजेट उत्कृष्ट छ, यस्का लागि अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु, बजेटले सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरेको छ, सामाजिक सुरक्षाको दायरा फराकिलो पार्ने काम भएको छ, सामाजिक सुरक्षा भत्ताको का सम्बन्धमा टिप्पणी गर्नेहरुले यसलाई गलत छ भनेर देखाउन म चुनौति दिन चाहन्छु

‘बजेटले जुन योजना र नीतिका साथ आफूलाई प्रस्तुत गरेको छ त्यसले ५ लाखमात्र होइन, त्यो भन्दा बढी रोजगारी सिर्जना हुनेछ,’ पौडेलको भनाई थियो । बजेटमा संयमित भएर लक्ष निर्धारण गरिएको पनि पौडेलको भनाई थियो । बजेटले समस्यालाई ठिक ढंगले चिनेको र ठिक ढंगले सामाधानका उपाय सुझाएको उहाँको विश्लेषण थियो ।