काठमाडौं, पुस ८
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलो पटक संचालनमा ल्याइएको चरिकोट डिवाट्स आयोजना (नमूना आयोजना) को रुपमा अघि बढ्ने बताउनुभयो ।
उहाँले नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि संचालनमा आउने सो आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भिमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले दोलखाको भिमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता पत्रमा हस्ताक्षर गराउनुभएको छ । आज सिंहदरबारमा नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सो आयोजना कार्यान्वयनसम्बन्धि सहमति तथा वित्तिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चरिकोट बजारसहित नगरपालिकाको वडा ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत खानेपानी तथा ढल व्यवस्थापनका लागि एशीयाली विकास बैंकको ऋण सहायतामा सो आयोजना निर्माणका लागि कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता गरिएको पत्रमा उल्लेख छ ।
आयोजनाको कूल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैंँया रहेको छ भने त्यसको कूल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्नु पर्छ । बागमती प्रदेश सभा सदस्य पशुपति चौंलागाईँले सो आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेयर केसीले नगरकै गौरवको आयोजना संचालनका लागि पहल गर्नुभएको भन्दै सञ्चारमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो । निर्देशक श्रेष्ठले सो आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भिमेश्वर नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, संचारमन्त्रीका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्