बझाङ, पुस ९
बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरामा बिहीबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बैतडी, पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् । बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउनेक्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो ।
गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्