जनता टाइम्स

९ पुष २०७७, बिहीबार ११:५६

घाइते बास्केटबल खेलाडी गुरुङलाई दुई लाख सहयोग


धरान, पुस ९

अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँको हाल विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उहाँको उपचारका लागि सो नगद सङ्कलन गरिएको हो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा र जिल्ला अध्यक्ष नारायण सुवेदीले बुधबार खेलाडी गुरुङलाई सङ्कलित रकम हस्तान्तरण गर्नुभयो । सोही अवसरमा धरान उपमहानगरपालिका– १८ का वडाध्यक्ष प्रवीण राईले रु १५ हजार र एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले १० हजार पनि सहयोग गर्नुभएको थियो ।

यसैगरी नेपाल बास्केटबल लिगबाट रु १० हजार, झापा बास्केटबल सङ्घबाट पाँच हजार, हिमालयन मेगा कलेजबाट पाँच हजार र होप धरानले सङ्कलित रु २७ हजार ४१० पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको बास्केटबल सङ्घ धरानका सचिव विकास चाम्लिङले जानकारी दिनुभयो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष लामाले खेलाडी घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले राष्ट्रका लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्छ भन्नुभयो ।

सातौं र आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्न सफल २८ वर्षीय गुरुङ प्रदेश नं १ का उदीयमान खेलाडी हुनुहुन्छ । उहाँको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट (एसिएल) पूर्णरुपमा च्यातिएको छ । मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको चिकित्सकले जनाएका छन् । खेलाडी गुरुङको शल्यक्रिया तथा लिगामेन्ट प्रत्यारोपण गर्न कम्तीमा रु तीन लाख खर्च हुने बताइएको छ ।