जनता टाइम्स

११ पुष २०७७, शनिबार २०:१४

सरकारमै बसेर मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्ने अर्थमन्त्री आङबो पदमुक्त


विराटनगर, पुष ११

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारमै बसिरहेर आफ्नैविरुद्ध हस्ताक्षर अभियान थालेका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई पदमुक्त गरिदिनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार शनिबार साँझ मुख्य मन्त्री राईले मन्त्री आङबोलाई पदबाट हटाइदिनु भएको हो । आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको छ । अविश्वास प्रस्ताव आइतबार दर्ता हुन सक्ने नेकपाको दाहाल–नेपाल समूहका एक नेताले बताएका छन् । आङबो पूर्व माओवादी नेता हुन् । हाल उनी दाहाल–नेपाल समूहमा छन् ।

दाहाल–नेपाल पक्षका सांसदहरुले दुई दिनयता अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक पटक छलफल गर्दै आएका छन् । तर, अन्तिम सहमति बनिसकेको छैन । नेपाली कांग्रेसले साथ नदिने संकेत दिएपछि सो समुह के गर्ने भन्ने अन्यौलमा रहेको छ ।

यसैगरी अविश्वासको प्रस्ताव दर्ता गर्दा भावी मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा पनि सो पक्षमा सहमति जुटेको छैन । दुई पक्षभित्र बहुमतमा रहेको नेपाल पक्षले प्रदेशसभा सदस्य भीम आचार्यको नाम नयाँ मुख्यमन्त्रीका लागि राख्नु पर्ने बताएको छ । तर, दाहाल पक्षबाट मन्त्री आङबोकै नाम राख्नुपर्ने अडानमा छन् । दुवै पक्षबीच सहमति बन्न नसक्दा अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन ।

प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य छन् । नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सदस्य छन् । नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य छन् ।

प्रदेश १ को संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री केपी ओली पक्षधर मुख्यमन्त्री राई २६ मत प्राप्त गरी विजय भएका थिए । उनका प्रतिस्पर्धी नेपाल पक्षक आचार्यले २४ मत प्राप्त गरेका थिए। १ मत बदर भएको थियो ।