जनता टाइम्स

१२ पुष २०७७, आईतवार १२:२२

केन्द्रमा अध्यक्ष–प्रधानमन्त्री हत्याउन नसकेपछि मुख्यमन्त्री फाल्ने अभियानमा लाग्यो प्रचण्ड–नेपाल समुह


काठमाडौं, पुस १२ । विधि, पद्धति र विधानको दुहाई दिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुह चुनावबिनै सत्ता हत्याउने खेलमा योजनावद्ध रुपमा लागेको पुष्टि भएको छ । माधव नेपालको चाहनाअनुसार पार्टी विभाजन भएलगत्तै सो समुहले प्रदेशमा अबिश्वासको प्रस्ताव राखेर आफूहरु पदका लागि पार्टी बिभाजन गरेको प्रमाण दिएका हुन ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई झुक्याएर माओवादीसँग पार्टी एकता गरेको भन्दै खुलेयाम बिरुद्धमा लाग्नुभएका नेता नेपालले केन्द्रमा अध्यक्ष तथा प्रधानमन्त्री ओली फाल्न गरेको सवै मेहनत खेर गएपछि अव प्रदेशको मुख्यमन्त्री हत्याउन अभियान चाल्नुभएको छ । नेता नेपाल नेकपामा संभव नभएपछि एउटा समुह खडा गरी प्रचण्डपछिको अध्यक्ष बन्नुभएको छ ।
नेपाल अध्यक्ष बन्न सफल भएपछि अब उहाँ निकट नेताहरु प्रदेशको मुख्यमन्त्री हत्याउने प्रयास शुरु भएको छ ।

बागमति प्रदेशमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री बन्ने पुरानो धोको पूरा गर्न मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार प्रदेशसभामा दर्ता गरेको सो समुहले प्रदेश–१ मा शेरधन राईविरुद्ध पनि आज अविश्वासको प्रस्ताव दर्ता गरेको छ । भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईसँगै पराजित हुनुभएको थियो ।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । दुवै प्रदेशमा अब नेपाली कांग्रेस निर्णायक बनेको छ । दुवै प्रदेशमा मुख्यमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव पारित गर्न कांग्रेसको साथ चाहिन्छ । कांग्रेसले माधव प्रचण्ड समुहको प्रस्तावमा मतदान गर्ने स्थिति अहिलेसम्म छैन ।