जनता टाइम्स

१२ पुष २०७७, आईतवार १६:४३

अबिश्वासको प्रस्ताव दर्तापछि मुख्यमन्त्री शेरधन राईले खोले मुख : गरे बिफल पारेर देखाउने अठोट


बिराटनगर, पुस १२ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेशसभामा प्रस्तुत अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताउनु भएको छ । प्रदेशसभा सचिवालयमा नेकपा बिभाजनकारी समुहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यस्तो दृढता जनाउनु भएको हो ।

मुख्यमन्त्री राईविरुद्ध आज नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव पेस गरेका हुन । उहाँले माधव नेपाल र प्रचण्ड समुहको यस कदमलाई संविधान र संघीयता विरोधी कामसमेत भन्नुभएको छ । ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, यस्तो कदमको आरामका साथ सामना गर्छु ।’

उहाँले सुविधाजनक बहुमतका साथ सामना गर्ने जानकारी पनि गर्नुभयो । मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफबिरुद्धको अबिश्वासको प्रस्ताव पारित नहुने बताउनु भयो । ‘यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ’, मुख्यमन्त्री राईले भन्नुभयो ।

आफूबिरुद्धको प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने मुख्यमन्त्री राईको भनाई छ । प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत पनि उहाँले गर्नुभयो । ‘यो स्वभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरु छलफल गर्छौ । सबै दलहरु बीचको सहमति बन्छ’, मुख्यमन्त्री राईले भन्नुभयो ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव पेस गरेपछि अन्य दलहरु गम्भीर भएको बताउनु भयो । ‘अविश्वासको प्रस्ताव आएपछि सबै दलहरु गम्भीर हुनुहुन्छ । किनकि, यो प्रदेशमाथि नै प्रहार हो,’ मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वास प्रस्ताव केन्द्रकै असर भएको बताउनु भयो । आफूले प्रदेशलाई गतिका साथ अगाडि बढाइरहेको र अविश्वास ल्याउनुपर्ने कारण नै नरहेको उहाँको भनाई छ ।
संसद बिघटन सही कदम
मुख्यमन्त्री राईले संसद विघटनको निर्णय देश जोगाउनका लागि सही कदम भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘प्रधानमन्त्रीलाई बन्द कोठाभित्र राखेर लेनदेन गर्न घेराबन्दी गरियो । त्यसैले विकल्पमा ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । त्यही विकल्प सही थियो,’ मुख्यमन्त्री राईले भन्नुभयो ।

संविधान र संघीयता असफल पार्दै प्रतिगामीहरुलाई बल पुग्नेगरी नेकपाकै नेताहरुले प्रधानमन्त्रीलाई घेराबन्दी गरिएको उहाँको भनाई छ । ‘जनताको म्याण्डेटलाई बन्द कोठामा, कसैको आग्रह, चाहना, लोभमा उहाँ (ओली) ले त्यसलाई साट्न मिल्दैनथ्यो,’ राईले भन्नुभयो ।