जनता टाइम्स

१२ पुष २०७७, आईतवार १९:३१

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान


खाँदबारी, पुस १२ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द, बिप्लव नेतृत्वको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोली चैनपुर–४, मैदानेमा पुगेपछि दोहोरो गोली हानाहान भएको हो ।

बिप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि गोली हानाहान भएको थियो । बिप्लव समुहले फायर खोलेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्थानीयवासीले बताएका छन ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट बिप्लवका कार्यकर्ताले गोली चलाएका थिए ।

गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायतका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ । मैदानेमा केही महिना अघिबाटै विप्लव समूहका नेता, कार्यकर्ता देखिएने गरेका थिए ।