काठमाडौं, पुस १२ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले आज ९ जना एसएसपीहरुलाई डिआइजीमा बढुवाका लागि सिफारिश गरेको हो ।
यसरी डिआइजीमा बढुवा सिफारिश हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य हुनुहुन्छ ।
कात्तिक अन्तिम साताको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा पाँच जना डीआईजीको दरबन्दी थपेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना डिआइजीमा आज बढुवा सिफारिस भएको हो ।
बढुवा सिफारिस गरिएकामध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो । आज सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट नेपाल प्रहरीमा प्रवेश गर्नुभएका अधिकृत हुन ।













प्रतिक्रिया दिनुहोस्