जनता टाइम्स

१४ पुष २०७७, मंगलवार ११:५१

धानको उत्पादन अहिलेसम्मकै उच्च


काठमाडौं, पुष १४

प्रमुख कृषि बाली धानको उत्पादन उच्च भएको छ । खेतीका बेला रसायनिक मल युरियाको चर्को अभाव भएपनि यो वर्ष धान उत्पादन बढेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ, जुन गत वर्ष भन्दा ७० हजार ८३१ टन धेरै हो । यो वर्ष फलेको धान अहिलेसम्मकै उच्च हो । समयमैं मनसुनी वर्षा शुरु भएर गत वर्षको भन्दा करीब एक तिहाई बढी वर्षा भएको, करीब १ प्रतिशत बढी खेतमा रोपाई बढेको तथा देशमा रसायनिक मलको अभाव भएपनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका जिल्लामा भारतबाट युरिया मल ल्याई किसानले प्रयोग गरेका कारण धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । यसका अलावा गुणस्तरीय उन्नत बीउको प्रयोगले धान उत्पादन बढाएको मन्त्रालयले दाबी गरेको छ ।

आर्थिक वर्ष २०७३–७४ मा १४.५ रहेको बीउ प्रतिस्थापन दर यो वर्ष २३.४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यो वर्ष धानको उत्पादकत्व ३.८२ टन प्रति हेक्टर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । गत वर्ष धानको उत्पादकत्व प्रति हेक्टर ३.८० टन थियो । मौद्रिक मूल्यमा यो वर्ष करीब रु. १ खर्ब ५७ अर्ब मूल्य बराबरको धान उत्पादन भएको अनुमान गरिएको छ । यसमा परालको मूल्य जोडिएको छैन । यो वर्ष कृषि मन्त्रालयले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. २ हजार ७३५ र मध्यमस्तरको धानको मूल्य प्रतिक्विन्टल रु. २ हजार ८८५ तोकेको थियो । कुल धान उत्पादनको ६० प्रतिशत मोटा र बाँकी मध्यम र मसिनो भएको अनुमान गर्दा यो परिमाण मूल्यमा धान उत्पादन भएको अनुमान गरिएको छ । 

यो वर्ष सबैभन्दा धेरै प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार टन धान फलेको थियो । त्यसपछि प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार टन धान फलेको थियो । सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३७ हजार टन धान फलेको थियो ।