जनता टाइम्स

१४ पुष २०७७, मंगलवार २०:१४

प्रचण्ड-माधवलाई शंकर पोखरेलको प्रस्ताव : प्रधानमन्त्रीबिरुद्धको आरोपपत्र फिर्ता लिने र चुनावमा जान मन्जुर भए सँगै हिँड्न सकिन्छ


कपिलबस्तु, पुस १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोख्रेलले पार्टीभित्र सहमतिको सम्भावना रहेको बताउनुभएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, बुद्धभूमि क्याम्पसमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो संभावना औल्याउनु भएको हो ।

नेकपा स्थायी कमिटीका सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले दोस्रो बरियताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेसको गरेको दस्ताबेजका कारण पार्टी फुटको संघारमा आइपुगेको पनि प्रष्ट पार्नुभयो । ‘हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसै हामी विभाजनको पक्षमा छैनौं । उहाँहरुले प्रधानमन्त्रीलाई गरेको आरोपपत्र फिर्ता लिने र चुनावमा भाग लिन मन्जुर गर्ने हो भने फेरि सँगै हिँड्न सक्ने अवस्था आउँछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले नेकपा प्रचण्ड–माधव पक्षलाई विभाजनका गतिविधि बन्द गरी एकताका पक्षमा लाग्न समेत आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले संसद विघटन अघि प्रचण्डसँग सहमतिका लागि प्रयास गरेको बिभिन्न तथ्यसमेत खोल्नुभयो । ‘प्रचण्डसँग सहमतिका लागि तीन विकल्प प्रस्तुत गरेका थियौं । कुनै विकल्पमा मान्नुभएन । पोखरेलका अनुसार पहिला विकल्पको रुपमा दुबैबीच सहमति गरी अधिवेशन गरी प्रथम अध्यक्षलाई बिदा गराई, पाँच वर्ष सरकार चलाउन दिने रहेको थियो । दोस्रो विकल्पमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि चुनावी सरकारले नेतृत्व लिन तयार भएर बस्न आग्रह गरिएको थियो ।

अन्तिम विकल्पको रुपमा तेस्रो व्यक्ति प्रधानमन्त्री बनाउनका लागि नेता वामदेव गौतमलाई अगाडि सार्ने र त्यसका लागि नेता गौतमलाई चुनावमा पठाउन अनुरोध गरेको बताउनुभयो । ‘यी तीनओटै विकल्प नमानी बाहिरबाट प्रस्ताव ल्याउने कोसिस गर्दा नेकपाभित्र संकट आयो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले जारी आन्दोलन प्रति इंगित गर्दै देशमा जारी भएको आन्दोलन, आन्दोलन नभई चुनावको तयारी रहेको संज्ञा दिनुभयो । ‘सुरुमा आन्दोलन काठमाडौं केन्द्रित भयो । अहिले जिल्लामा आई पुगेको छ । अब केही समय पछि गाउँमा पुग्छ । आन्दोलन गाउँमा पुग्ने भनेको भोट माग्न जाने हो । तपाईं भ्रममा नपर्नुहोस आन्दोलनकारी चुनावमा जानका लागि गाउँमा पुगेको छ,’ उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य विमला घिमिरेले नेकपा एक ढिक्का रहेर अगाडि बढेको बताउनुभयो । नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन गरेका छैनांै । केही साथीहरु सडकमा विरोध गर्न जानुभएको छ । विरोध गर्न जाने साथी जनताका लागि नभएर पदको लागि विरोध गरेको बताउनुभयो ।