जनता टाइम्स

१५ पुष २०७७, बुधबार १८:३०

संबिधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुनै सक्दैन : प्रधानमन्त्री ओली


काठमाडौं, पुस १५ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने ठोकुवा गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशका पार्टीका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रष्ट पार्नुभएको हो ।

आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनःस्थापना नहुने उहाँको भनाई छ । नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको बेला प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिनुभएको हो ।

‘संविधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनःस्थापना हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुनःस्थापना हुन सक्दैन ।’

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको उहाँको भनाई छ ।

संविधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनःस्थापना हुँदैन

प्रचण्ड र माधव नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको जानकारी पनि प्रधानमन्त्री ओलीले गराउनु भयो । अब सँगै मिलेर चुनावमा जानुपर्ने उहाँको भनाई छ । प्रचण्डले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको तर मुलुकको हित नदेखेको पनि उहाँले बताउनु भयो ।