रोल्पा, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सडकमा कराउन छाडेर चुनावको तयारी थाल्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई सुझाव दिनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको कारण अव चुनावमा जाने हिम्मत देखाउन प्रचण्ड–माधवलाई आग्रह पनि गर्नुभयो । रोल्पाको सुलिचौरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्ड–नेपाल समूहले प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गरेकै कारण आजको संकट आएको प्रष्ट पार्नुभयो ।
‘पार्टी एकताको मर्म, पार्टी विधानलाई बेवास्ता गरेर, आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर पार्टी विभाजन गर्ने काम प्रचण्डको अगुवाईमा भयो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम संविधानसम्मत भएको तथ्य पनि राख्नुभयो ।
भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसौदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी जिएमलगायतका नेता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा क्षेत्र नं. १ का कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
भेलाको अध्यक्षता नेकपा नेता खिमचन्द्र पुन, सञ्चालन दिपक बिष्ट र स्वागत बोमबहादुर पुनले गर्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्