जनता टाइम्स

१६ पुष २०७७, बिहीबार १४:५५

मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन


काठमाडौं, पुष १६

नेकपाको विवादले गर्दा प्रदेश–१ मा उग्ररुप लिन थालेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पार्टी अनुशासन विपरित काम गर्ने १५ जना सांसद्लाई कारबाही गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शमौ ओली समूहको नेकपाका नेतासमेत रहनु भएका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गर्नुभएको हो ।

नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीका अनुसार मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको छ ।

निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही नगरेको उहाले जानकारी दिनुभयो ।