जनकपुर, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजित नेकपा पार्टी पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
ओली समूहमा खुलेर लागेका तत्कालिन नेकपा एमालेका सांसद तथा नेता मण्डलविरुद्ध दाहाल–नेपाल समूहका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव दर्ता गराइएको हो । नेकपाका सांसद महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।
अविश्वास प्रस्तावमा गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, रामकुमार यादव, प्रमोदकुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगतप्रसाद यादव, शत्रुधन महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिनुभयो ।
संसदीय दलको नेतामाथि अविश्वास प्रस्तावका लागि एक चौथाइ प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दलको उपनेतालाई बुझाउनुपर्ने विधान अनुरुप बुधबार नै अविश्वास प्रस्ताव दर्ता गराइएको महतोले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्