काठमाडौं, पुस १७ । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपति बिद्यादवी भण्डारीबिरुद्ध ब्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारवाहीमा जाने भएको छ । अनेमसंघले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सो घोषणा गरेको हो ।
अनेमसंघका सहसंयोजक सिता पौडेलले राष्ट्रपति भण्डारीबिरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताउनुभयो । उहाँले यस्तो नारा लगाउने ब्यक्तिको पहिचान गरी कानूनी दायरामा ल्याउन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सरकारको ध्यानाकर्षण गराउने, साइवर क्राइमको मुद्दा लिएर प्रहरीकहाँ जाने जानकारीसमेत दिनुभयो ।
सहसंयोजक पौडेलले सार्वजानिक कार्यक्रम, भेला, जुलुस, नारा एवं विद्युतिय सार्वजानिक माध्यमहरुद्धारा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अत्यन्त लज्जाष्पद, अमानवीय, अराजक र निकृष्ट ढंगले आइहेका अभिब्यक्ति तत्काल रोक्न पनि माग गर्नुभयो । उहाँले अपमानजनक, अमर्यादित, असभ्य र कानुनले बन्देज गरेका भाषाको प्रयोग गरी दिईएका अभिव्यक्तिप्रति निन्दा तथा भत्सर्ना गर्दै यस्तो अभिब्यति दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन अनेमसंघले पहल सुरु गरेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा अनेसंघका पदाधिकारीहरु गोमा देवकोटा, सुजिता शाक्य, राधा ज्ञवालीलगायतले केही दिनअघि जुलुसमा लगाइएको नाराले समग्र महिलाको अस्मितामाथि धावा बोलेको बताउनु भयो । उक्त पत्रकार सम्मेलनमा अनेमसंघका आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ । सचिवालय बैठकको निर्णयानुसार अनेमसंघले यही माघ ३ र ४ गते केन्द्रीय समिति बैठक आयोजना गर्नेछ । तथा माताहतका समितिहरुलाई बिस्तार गरी परिचालन गरिने छ ।

संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारीक रुपमा दुई भागका विभाजन भएको छ । प्रधानमन्त्री ओलीको कदमपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको समुह पार्टीबाटै अलग भएर आन्दोलनमा उत्रिएको छ । आन्दोलनमा दुई नेताले अगुवाई गरेको र्यालीमा राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध आपत्तिजनक नारालगाइएको थियो । पत्रकार सम्मेलनमा नेतृ शाक्यले आन्दोलनको नेतृत्व गर्ने नेताहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्