२१ जेष्ठ २०७६, मंगलबार ००:००

नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै, यी नेताले पाउदैछन् नेतृत्व


काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आज केन्द्रीय नेताहरुको कार्यविभाजन गर्दैछ । त्यसका लागि अपरान्ह ३ बजेपछि सचिवालय बैठक बोलाइएको छ । संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

केही समय अघि महासचिव पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाईसक्नु भएको छ । उहाको प्रस्तावलाई दुवै अध्यक्षसहित अन्य सचिवालय सदस्यका विचमा समेत छलफल भईसकेको छ । अध्यक्षद्वयले चरण–चरणमा छलफल गरेपछि प्रस्ताव सचिवालयमा पेस गर्न लागिएको हो । संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हात पार्न नेताहरूविच प्रतिष्पर्धा नै चलेको छ । त्यसैले कार्यविभाजन टुंग्याउन नेतृत्वलाई सकस परेको थियो। वामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल संगठन विभागको नेतृत्वलिच आकांक्षी रहनु भएको छ । स्कुलिङमा पनि पोखरेलसहित नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, आर्थिकमा महासचिव पौडेलको नाम चर्चामा छ। विदेश मामिलामा वरिष्ठ नेता नेपालको नाममा सहमतिजस्तै बनेको छ। यद्यपी यसलाई सचिवालय बैठकले टुंगो लगाएपछि मात्र आधिकारीक मानिने छ ।

नेकपामा रहेका ३२ विभाग मध्ये मुख्य–मुख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी रहेको स्रोतको भनाइ छ। अर्थ तथा योजना, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कुलिङ, राजकीय मामिला तथा सुशासन, विदेश मामिलाजस्ता विभाग महत्वपूर्ण छन्। यसैविच, पोलिटब्युरो भने तत्काल गठन हुने सम्भावना न्युन रहेको छ । यस्तै, बैठकले भूगोलका ७७ वटै जिल्लाका इन्चार्जको टुंगो लगाउने तयारी पनि छ। त्यसका लागि वरिष्ठतालाई आधार बनाइएको छ। तत्कालीन एमाले अध्यक्ष रहेको जिल्लामा माओवादी र माओवादी अध्यक्ष रहेको जिल्लामा एमाले पृष्ठभूमिका नेतालाई सकभर इन्चार्ज तोक्ने तयारी छ। तर, केही जिल्लामा एकै पृष्ठभूमिका अध्यक्ष र इन्चार्ज हुने गरी पनि केन्द्रीय समिति सदस्यको वरिष्ठतालाई आधार बनाएर कार्यविभाजन प्रस्ताव तयार पारिएको स्रोतले बताएको छ।