नवलपरासी, पुष १९
लुम्बिनी चिनी उद्योगका संचालक मनोजकुमार अग्रवाललाई प्रहरीले गिरफतार गरे पछि उखु किसानको बाँकी रहेको रकमको भुक्तानी पाउन थालेका छन् । पश्चिम नवलपरासीको सुनवलमा स्थित लुम्बिनी चिनी उद्योगका मालिक मनोजकुमार अग्रवाललाई वीरगञ्जबाट विहिवार साँझ प्रहरीले गिरफतार गरी नवलपरासी ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार उद्योगी अग्रवालले एक हप्ता भित्रमा उखु किसानहरुको बाँकी रकम भुगतानी गर्ने लिखित सहमति गरे पछि अग्रवाललाई छाडिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो । एक हप्ता भित्रमा किसानहरुको उखुको बाँकी रकम भुक्तानी गर्ने लिखित सर्तमा अग्रवाल छुटे पछि शुक्रवार नै केही किसानको रकम भुक्तानी भएको थियो ।
उद्योगपति मनिष अग्रवालको नामा रहेको यो उद्योग मनिष अग्रवालको मृत्यु भए पछि पछिल्लो दुई वर्ष देखि बन्द अवस्थामा रहेको थियो । अग्रवाल परिवारको सम्पति भाईभाईमा बांडफांड गर्दा लुम्बिनी चिनी उद्योग मनोज अग्रवालको भागमा परे पछि उद्योग पुनः संचालनको तयारी समेत रहेको अवस्थामा प्रहरीले मनोज अग्रवाललाई गिरफतार गरि किसानको रकम चुक्ता गर्न दवाव दिएको हो ।
उद्योगले किसानको बाँकी रकम भुक्तानी गर्ने प्रतिबद्धता गरेका पहिलो दिनमा नै एक करोड १० लाख रुपियाँ भुक्तानी भएको लुम्बिनी चिनी उद्योगका प्रबन्ध निर्देशक विजय गुप्ताले बताउनु भयो ।उद्योगले पुस २४ गते भित्र सबै किसानहरुको बाँकी रकम भुक्तानी गर्ने जानकारी दिएको छ । लुम्बिनी चिनी उद्योगले उखु किसानहरुको आठ करोड रुपियाँ तिर्न बाँकी रहेको छ ।
पश्चिम नवलपरासीको कुडियामा रहेको ईन्दिरा सुगर मिलले पनि किसानको पाँच करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । ईन्दिरा सुगर मिलका मालिक राकेश अग्रवाल अहिले सम्पर्कमा नरहेको र प्रहरीले उनलाई पनि गिरफतार गर्न निगरानी बढाएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी पाठकले बताउनु भएको छ । पश्चिम नवलपरासीमा १२ सय उखु किसानहरुले दुई चिनी उद्योगबाट गरि १३ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्