जनता टाइम्स

२० पुष २०७७, सोमबार १९:०२

बादलले खोले माधव–प्रचण्डले गरेको बदमासीको पोल


केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक नेकपा हो, फुटवादी प्रचण्ड–माधवहरुको भ्रममा कोही पनि नपर्नाेस

चितवन, पुस २० । गृहमन्त्री रामबहादुर थापा, बादलले पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले पार्टीका अध्यक्षलाई हटाएर गुट चलाएकाले उनीहरूलाई स्वीकार गर्न नसकिएको प्रष्ट पार्नुभएको छ । आफ्नो गृहजिल्ला चितवनमा नेकपाले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक नेकपा भएको बताउनु भयो ।

अध्यक्षलाई आत्मसमर्पण गर्न धम्कीसहितको आरोपपत्र बैठकमा पेश गरेपछि नेतृत्वले त्यसलाई स्वीकार गर्न नसकेको थापाले बताउनु भयो । ‘अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट आत्मसमर्पण गर्न धम्की आएपछि त्यसलाई स्वीकार्न सक्ने कुरा भएन, नेतृत्वलाई आत्मसमर्पण गर्न बाध्य पारेर कस्तो पार्टी निर्माण गर्न खोज्दै छौं भन्ने कुरो हो,’ थापाले भन्नुभयो ।

गृहमन्त्री थापाले प्रचण्ड र माधव समूह पार्टी फुटाउने लाइनमै सक्रिय रहँदै आएको खुलासा पनि गर्नुभयो । ‘उनीहरूले खेलेको फुटवाद र विसर्जनवादविरूद्धमा हामी एक ढंगले लागिरहेका थियौं, एकता जोगाउने काममा लाग्दालाग्दै पनि सकिएन,’ थापाले भन्नुभयो, ‘अहिले पनि एकता जोगाउन सकिन्छ कि भनेर लागेकै छौं ।’

उहाँले प्रचण्ड जसरी पनि प्रधानमन्त्री हुने दिशामा लागेपछि संसद नै विघटन गर्नुपरेको तथ्य पनि राख्नुभयो । ‘संसद नै नरहेपछि त प्रधानमन्त्री बन्न अब चुनाव जितेर आउनुपर्यो,’ थापाले भन्नुभयो, ‘जनताको माझमा गएर चुनाव जितेर प्रधाामन्त्री बन्नुहोला, कार्यकर्ताको मन जितेर महाधिवेशनबाट अध्यक्ष बन्नुहोला, शुभकामना छ तर यसै प्रधानमन्त्री र अध्यक्ष बन्न पाइँदैन,’ थापाको भनाई थियो ।

थापाले राज्यरूपान्तरण, राष्ट्रवाद, जनताको जनवाद लगायतका कार्यभार पूरा गर्नका लागि ओलीको नेतृत्व, नीति र विचार उपयुक्त रहेको भन्दै कुनै दुविधामा नपरी चुनावको मोर्चामा खटन निर्देशन पनि दिनुभयो । ‘तपाईंहरू अब चुनावको तयारीमा लाग्नुहोला, सबै निर्वाचन क्षेत्रमा विजयको झण्डा फहराउनुपर्छ,’ थापाले भन्नुभयो ।