काठमाडौं, पुस २१ । आज पनि देशभरको मौसम बद्ली भएको भएको छ । हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार वाग्मती प्रदेशका एकरदुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।
पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँकाअनुसार भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
जुम्लामा सोमवारदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताउनुभयो । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताउनुभयो ।
सोमवारदेखि यस वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात शुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जौँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान हरिप्रसाद रोकायाले बताउनुभयो । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ ।













प्रतिक्रिया दिनुहोस्