जनता टाइम्स

२२ पुष २०७७, बुधबार १०:४५

भारतका पूर्वराष्ट्रपति मुखर्जीको किताबमा दाबी : त्रिभुवनले नेपाललाई भारतमा गाभ्ने प्रस्ताव गरेका थिए


काठमाडौं, पुष २२

भारतका पूर्वराष्ट्रपति स्व. प्रणव मुखर्जीले नेपालका राजा त्रिभुवन विरविक्रम शाहले नेपाललाई भारतमा गाभ्ने प्रस्ताव गरेको दावी गरेका छन् । आफ्नो मृत्युअघि उनले लेखेको किताबमा सो कुराको खुलासा गरेका हुन् ।

मुखर्जीले दाबी गरेका छन् कि त्रिभुवनको सो प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री जवाहर लाल नेहरुले ठाडै अस्विकार गरेका थिए । आफ्नो बहुचर्चित अटोबायोग्राफी ‘द प्रेसिडेन्शियल ईयर्स’ मा त्रिभुवनको प्रस्तावलाई नेहरुले अस्विकार गरेको बताउदै नेहरुको ठाउमा इन्दिरा गान्धी भएको भए सायद यस्तो गर्दैनन् थिइन होला भनेका छन् ।

अटोबायोग्राफीको ११ औं च्याप्टरको ‘माइ प्राइम मिनिष्टर्सः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शिर्षकमा उनले भनेका छन्, ‘त्रिभुवनले नेहरुलाई नेपाललाई भारतमा विलय गरेर उसको एक प्रान्त बनाउन प्रस्ताव दिएका थिए । तर, नेहरुले यो प्रस्ताव स्विकार गरेनन् । मुखर्जीले अगाडी लेख्दै यदी इन्दिरा गान्धी नेहरुको स्थानमा भएको भए यस अवसरलाई जान दिने थिइनन्, जसरी उनले सिक्किमको साथमा गरेकी थिइन् ।’

पुस्तक गतवर्ष उनले निधन अगाडी लेखेका थिए । रुपा प्रकाशनद्वारा प्रकाशित यो पुस्तक मंगलबारदेखी बजारमा आएको छ । यो पुस्तकलाई लिएर मुखर्जीका छोराछोरीमा मतभेद आएको छ । उनका छोरा अभिजीत मुखर्जीले मंगलबार पब्लिकेशन हाउसलाई किताबको प्रकाशन रोक्न भनेका थिए । उनले किताब एकपटक हेर्न र त्यहा भएका विषयहरु प्रमाणित गर्न चाहान्थे । तर, उनकी छोरी एंव कांग्रेस पार्टी की प्रवक्ता शर्मिष्ठा मुखर्जीले भने पिताले किताबलाई प्रकाशन अगाडी हेरिसकेको बताएकी छन् । उनले अभिजीतलाई सस्तो लोकप्रियताबाट बच्न समेत सुझाव दिएकी छन् ।