जनता टाइम्स

२७ पुष २०७७, सोमबार १६:१८

टोपबहादुर रायमाझीले गरे बाह्य शक्तिको इशारामा प्रचण्ड प्रधानमन्त्री ओलीबिरुद्ध लागेको खुलासा


अर्घाखाँची, पुस २७ । उर्जामन्त्री टोपबहादुर रायमाझीले बाह्य शक्तिको इशारामा पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लागेको खुलासा गर्नुभएको छ । आफ्नै गृहजिल्ला अर्घाखाँचीको मालारानीमा नेकपाले आयोजना गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले यस्तो खुलासा गर्नुभएको हो ।

‘बिदेसीको इसारामा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडकमा पुर्याउने प्रचण्ड र माधव नेपालको डिजाइनलाई केपी ओलीले असफल पार्नुभयो, षडयन्त्रमा उनीहरु आफै फस्न पुगे,’ मन्त्री रायमाझीले भन्नुभयो, ‘प्रचण्ड समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको थियो, बाह्य शक्तिको इशारामा नै प्रचण्ड समुहले प्रधानमन्त्रीबिरुद्ध षडयन्त्र रचेको हो ।’

उहाँले ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएको तथ्यसमेत खोल्नुभयो । प्रचण्ड समूहले एकताको मर्मविपरीत पार्टीभित्र चरम गुटबन्दी गरेर पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको तथ्यसमेत उहाँले राख्नुभएको छ ।
३३ वर्षसम्म आफैं टीको लगाएर पार्टी अध्यक्ष बनेका प्रचण्डलाई विधि र पद्धतिको राम्रो ज्ञान नभएको उहाँले बताउनुभयो । ‘पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गर्नुभयो,’ रायमाझीले भन्नुभयो ।

आफ्नै पार्टीका केही नेताको असहयोग र अवरोधबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको बताउनुभयो । अरू सरकारले गर्न नसकेका अभूतपूर्व काम ओली नेतृत्वको सरकारले गरेको बताउँदै उहाँले थप्नुभयो, ’सरकारका काम पार्टीकै नेताले देखेनन, सरकारले केही गरेन भनेर जनतामा भ्रम फैलाए तर सरकारले जनमुखी र ऐतिहासिक काम गरेको तपाईंहरूले देख्नुभएकै छ ।’

अब केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढिसकेको भन्दै रायमाझीले देशैभर जननहर छाएको बताउनुभयो । प्रतिनिधि सभा पुनःस्थापना नहुने भन्दै उहाँले चुनावको तयारी थाल्न नेता–कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।