जनता टाइम्स

२९ पुष २०७७, बुधबार १६:२८

प्रतिनिधिसभा विघटन मुद्दा : हेर्दा हेर्दैमा, अर्का इजलास शुक्रबार


काठमाडौं, पुष २९

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा शुक्रबारसम्मलाई स्थगित भएको छ । संवैधानिक इजलासमै हेर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने बहस आज नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

शुक्रबार फेरी बहस सकिएपछि मात्रै निर्णय आउने भएको छ । त्यसपछि मात्रै मुख्य मुद्दामा सुनुवाई शुरु हुने भएको छ । बुधबारको इजलासमा बृहत् पूर्ण इजलासमा सुनुवाइ माग गर्दै दर्ता भएका निवेदनहरु पढेर सकिएको थियो । त्यसपछि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरि उप्रेती र दिनेश त्रिपाठीले संवैधानिक इजलासमा पठाउने आदेश नै त्रुटि पूर्ण रहेको भन्दै मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए ।

इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बृहत पूर्ण इजलासमा बहस गरिरहेका बेला रोकेर राणाले दुईखाले कुरा नगर्न भन्दै कडा प्रश्न उठाउनु भएको थियो । बहस रोकेर राणाले भन्नुभयो, ‘तपाईंहरुको बुझाइ दोहोरो भयो । गम्भीर संवैधानिक व्याख्या आवश्यक छ भनेर निवेदन दिनुभएको छ । अनि बहसमा गम्भीर संवैधानिक व्याख्या संवैधानिक इजलासबाट हुनुहुँदैन भन्नुहुन्छ । यो दुइखाले कुरा भयो । कि संवैधानिक व्याख्या चाहिँदैन भन्नुपर्यो ।’

त्यसपछि सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बृहत् पूर्ण इजलास आवश्यक नरहेको र संविधान तथा सर्वोच्च अदालतको नियमावलीअनुसार संवैधानिक इजलासले नै टुंगो लगाउने जिकिर गर्नुभएको थियो ।

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ल थपिएपछि पहिलो सुनुवाइ भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन् ।