जनता टाइम्स

३ माघ २०७७, शनिबार ०८:०६

काठमाडौंको उपत्यकाका एक दर्जन शहरममा आज बिजुली काटिदै, यस्तो छ कारण


काठमाडौं, माघ ३ । आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार आज काठमाडौंको बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने भएको हो ।

प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जानेछ।सो फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका सम्पूर्ण क्षेत्रमा केही घन्टा बत्ती नआउने भएको हो।यस्तै महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज बिहान ७ बजेदेखि ८ बजेसम्म बत्ती जाने भएको छ।यस्तै पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि केही घन्टा बत्ति जाने भएको छ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा बत्ती जाने भएको छ।मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ।प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो । मर्मतका लागि बिजुली काट्नुपर्ने भएकाले यसलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले बताउँदै आएको छ ।