जनता टाइम्स

३ माघ २०७७, शनिबार १७:३२

सामूहिक बलात्कारको उजुरी दिने युवती नै पक्राउ


रौतहट, माघ ४ । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन बलात्कारको आरोप लगाएको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी ओखलढुंगाकी १७ वषिर्या युवतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ओखलढुंगाकी ती युवती पुस २८ गते ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । उनले ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको बताएकी थिइन् ।

चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले आरोपितहरुको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीरसमेत पहिचान गरेकी थिइन । तर आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन । त्यसपछि प्रहरीलाई युवतीमाथि नै शंका लागेपछि बन्धक बनाएको ठाउँ देखाउन भन्यो, तर सकिनन् ।

बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको तथ्य खुलेपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठका अनुसार गजेन्द्र भन्ने राम विश्वास साह कानू लगायतले अर्कालाई झुटो मुद्दामा फसाउन सामुहिक बलात्कारको योजना बनाएको तथ्य खुलेको छ ।