जनता टाइम्स

३ माघ २०७७, शनिबार २०:२८

मुक्तिनाथ हत्याकै दिन प्रचण्डलाई माधवले उत्कृष्ट नेता घोषणा गरेपछि


लमजुङ,माघ ३ । सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन । स्व अधिकारीका छोरा सुमन अधिकारीले यस्तो गुनासो गर्नुभएको हो ।

शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो ।

कार्यक्रममा स्व अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताउनुभयो । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उहाँको भनाइ थियो ।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको उहाँको गुनासो छ । पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो । नेकपाबाट अलग हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्नुभएको युद्धकालमा अधिकारी जस्ता थुप्रै निर्दाेष नागरिक मारिएका छन ।

आज असल शिक्षक मुक्तिनाथ हत्या भएकै दिन परिवारका सदस्यले न्याय नपाएको गुनासो गरिरहँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने प्रचण्ड दुनियाकै इमान्दार र उत्कृष्ट नेता भएको घोषणा गरिदिनु भएको छ । मुक्तिनाथ जस्ता असल मानिस मारिएकै दिन पारेर मावधले गर्नुभएको यो घोषणासमेत उहाँका परिवारलाई नराम्रोसँग बिझेको अनुभुति सवैले गरेका छन ।