जनता टाइम्स

४ माघ २०७७, आईतवार १८:१७

तुहियो प्रचण्ड–माधव समुहको सपना : चुनावको पक्षमा दृढतापुर्वक उभियो कांग्रेस


काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो ।

कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुहको सपना तुहिएको छ । निर्वाचन आयोगमा गएर नेपाली कांग्रेसले हामी चुनावका लागि तयार छौं भनेको हो । चुनाव अस्वीकार गर्दै आन्दोलनमा जान प्रचण्ड–माधव समूहले कांग्रेसभित्र व्यापक चलखेल गरेपनि असफल भएको हो ।

आयोगले निर्वाचन तयारीका सम्बन्धमा राजनीतिक दलहरुसँग आजबाट थालेको औपचारिक छलफलमा कांग्रेसले चुनाव स्वीकार गर्दै निर्वाचन गर्न आयोगलाई सघाउने प्रष्ट बटमलाइन सुनाएको छ । बैशाख १७ र २७ गते हुने चुनावको मतदाता नामावली र मतदान केन्द्र सम्बन्धमा आज आयोगले दलहरुसँग छलफल गरेको हो ।

‘निर्वाचन आयोगले हामीसँग छलफल गर्यो । हामीले आफ्ना कुरा राखेका छौं । निर्वाचन गराउन आयोगलाई सघाउन हामी तयार छौं भनेका छौं,’ छलफलपछि नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सञ्चारकर्मीसम्ग भन्नुभयो । ढुंगानाले चुनावको विकल्प नभएको पनि बताउनु भयो । ‘प्रतिनिधि सभा पुनःस्थापना भयो भने पनि ठिकै छ । पुनःस्थापना भएन भने निर्वाचनमा नगई हुन्छ ? देशलाई अन्यौलमा राख्न सकिँदैन,’ ढुंगानाले भन्नुभयो ।

आयोगलाई प्रचण्ड–माधव समूहले भने चुनाव नगराउनु भनेर धम्की दिएको छ । सो समूहका तर्फबाट आयोगमा पुग्नुभएका नेता राजेन्द्रप्रसाद पाण्डले चुनाव नमान्ने घोषणा गर्नुभयो । ‘हामी चुनाव मान्दैनौं । निर्वाचन आयोगले चुनाव गराउन सक्दैन, यो आयोग निष्पक्ष छैन । प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ, चुनाव होइन,’ पाण्डेले भन्नुभयो ।

पाण्डेले आयोगलाई निर्वाचन सम्बन्धी कुनै काम नगर्न चेतावनीसमेत दिनुभयो । ‘अब भोटर लिष्टमा नाम थप्न पाइँदैन । योग्यता पुगेको भए पनि थप्न पाइँदैन,’ पाण्डेको भनाई थियो ।