जनता टाइम्स

५ माघ २०७७, सोमबार १६:५७

दिनमा दुई जनाले मात्र बहस गरेपछि न्यायाधीशले भने-निर्वाचनको तयारी भईसकेकाले केही गर्नु परेन भन्ने आदेश नआओस


काठमाडौं, माघ ५

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा एक न्यायाधीशले अधिवक्तालाई समयको ख्याल गर्न सुझाव दिनु भएको छ । रिट निवेदकका तर्फबाट केवल दुई जनाले बहस गर्दा एक दिनको समय सकिएपछि न्यायाधीशले निर्वाचन भईसक्दा पनि बहस नसकिने अवस्था सिर्जना नहोस् भन्दै सुझाव दिनुभएको हो ।

अधिवक्ताहरुको लामो बहस सुनेपछि संवैधानिक इजलासका न्यायाधीशहरुले समय व्यवस्थापन गर्न सुझाव दिएका छन् । अधिवक्ता दीनमणि पोख्रेलले सोमबारको बहस सुरु गर्नुभएको थियो । उहाको बहस ‘ब्रेक टाइम’ पछि पनि जारी रहेपछि न्यायाधीश अनिलकुमार सिन्हाले इजलासले अधिवक्ताहरुलाई बहसमा नरोक्ने भन्दै आफैं समय व्यवस्थापन गर्न भन्नुभयो ।

उहाले बहस लम्बिँदै जाँदा निर्वाचनको तयारी भइसकेकाले केही बोल्नुपरेन भन्ने अवस्था नआओस् भन्दै सचेत पनि गराउनु भयो । ‘कति समय लिनुहुन्छ ? साढे ३ सयजति वकालतनामा परेका छन् । फेरि झारखण्डकोजस्तो नहोस् । विघटन गलत हो भन्दा भन्दै, सुनुवाइ गर्दागर्दै चुनावको समय आइसक्ने र तयारी भइसकेको हुनाले अब केही गर्नुपरेन भन्नु परोस् । समय म्यानेज गर्नुहोला । हामी रोक्दैनौँ’, न्यायाधीश सिन्हाले भन्नुभयो । अधिवक्ता पोखरेलले बहस गरेपछि अर्का अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस सकिदा सोमबारको बहस सकिएको थियो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । अधिवक्ता भीमार्जुन आचार्य र सुनील पोख्रेलले पनि आइतबार घण्टौं बहस गर्नुभएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा भइसकेको छ ।