जनता टाइम्स

७ माघ २०७७, बुधबार १६:३४

मुलुकभर शुरु भयो निर्वाचनको तयारी, हिमालपारिको जिल्ला मनाङमा निर्वाचन केन्द्र निर्धारण


मनाङ, माघ ७

सरकारले मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै देशका विभिन्न जिल्लामा निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयहरूले सक्रियता बढाएको हो ।निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, मोरङ आवश्यक तयारीमा जुटेको छ ।

कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताउनुभयो ।

राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररूपमा सम्पन्न हुने निर्वाचन कार्यालयको ठहर छ । विसं २०७४ को संसदीय निर्वाचनमा मोरङमा छ लाख ४४ हजार ७८३ मतदाता थिए भने अहिले छ लाख ७२ हजार ४०० मतदाता रहेको प्रमुख ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार आगामी निर्वाचनमा ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ । गएको संसदीय निर्वाचनमा मोरङमा ३०० मतदान केन्द्र र ७५८ मतदान स्थल कायम गरिएको थियो । तथापि राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सुझाव आउन बाँकी नै रहेकोले यसमा परिवर्तन हुन सक्ने प्रमुख ठाकुरको भनाइ छ ।

देशमा संसद् विघटनसँगै चुनावी मिति घोषणसमेत भएको छ । आगामी वैशाखमा हुने निर्वाचनका लागि मनाङमा निर्वाचन केन्द्र निर्धारण गरिएको हो । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भए तापनि मुलुकभर निर्वाचनको तयारी भने भइरहेको छ ।

हिमालपारिको जिल्ला मनाङमा आसन्न निर्वाचनको तयारी शुरु भएको छ । चारवटा गाउँपालिका रहेको यस जिल्लामा आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गर्ने काम भएको हो । 

मतदान केन्द्र निर्धाण समितिको बैठकले जिल्लाभर २८ वटा मतदान केन्द्र निर्धारण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार चामे गाउँपालिकामा पाँचवटा मतदान केन्द्र रहने छ भने त्यस्तैगरी नासों गाउँपालिकामा नौ, मनाङ ङिस्याङ गाउँपालिकामा नौ र नार्पाभूमि गाउँपालिका पाँचवटा मतदान केन्द्र रहने छ ।

जिल्लाभर चार गाउँपालिकामा जम्म २८ वडा रहेका छन् । जिल्लाको २०६८ सालको जनगणनाअनुसार कूल जनसङ्ख्या छ हजार १४७ जना रहेका छन् । गत निर्वाचनमा जम्मा पाँच हजार ८८१ मतदात सङ्ख्यामध्ये प्रतिनिधिसभामा चार हजार ३३५ मत खसेको थियो । 

त्यस्तै प्रदेशसभामा चार हजार ३३८ मत खसेको जिल्ला निर्वाचन कार्यालय चामे मनाङले जनाएको छ । सो निर्वाचनमा प्रतिनिधिसभामा १६ मत बदर भएको थियो भने प्रदेशसभामा १४ मत बदर भएको जिल्ला निर्वाचनले जनाएको छ ।

जिल्ला निर्वाचनका अनुसार प्रत्येक वडामा सबैलाई पायक पर्ने स्थानमा मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ । हाल पछिल्लो मतदाता नामावली आइनसकेको निवार्चन कार्यालयले जानकारी दिएको छ ।