जनता टाइम्स

७ माघ २०७७, बुधबार १८:४८

लागुऔषध मुद्दामा पक्राउ परेका १४८ जना कारागार चलान


झापा, माघ ७

झापामा लागुऔषधसँग सम्बन्धित अपराधमा पक्राउ परेका अधिकांश अभियुक्त कानूनी कारवाहीका सिलसिलामा कारागार चलान हुने गरेका छन् । गत वर्ष माघ १ गतेदेखि पुस मसान्तसम्म एक वर्षको अवधिमा यहाँ लागुऔषध मुद्दामा १९९ व्यक्तिलाई कानूनी कठघरामा उभ्याइएकामा १४८ जना कारागार चलान भएका छन् ।

यसलाई अपराध नियन्त्रणको दृष्टिले सकारात्मक सङ्केतका रुपमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार सो अवधिमा ४१ जना मात्र कारागार नगई धरौटीमा छुटेका थिए । पक्राउ पर्नेमा ११ महिला र नौ नाबालक पनि थिए । कारागार चलान हुनेमा सात महिला र छ नाबालक छन् ।

काँकडभिट्टा सबैभन्दा बढी लागुऔषधको ओसारपसार र अपराध हुने क्षेत्र हो । त्यसपछि भद्रपुर, गौरीगञ्ज, विर्तामोड र दमकमा सो अपराध धेरै हुने गरेको छ । प्रहरी र समुदायको आपसी सहकार्यमा जिल्लामा लागुऔषधको जालो च्यात्न लामो समयदेखि प्रयास हुँदै आएको छ । जिल्लामा सरुवा भई आउने हरेक प्रहरी प्रमुखले लागुऔषधको अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

सबुत प्रमाणसहित अभियुक्त पक्राउ पर्ने गरेका कारण पछिल्लो समय लागुऔषध अपराध मुद्दामा पक्राउ परेका अधिकांश व्यक्तिले कानूनले तोकेबमोजिमको दण्ड सजाय भोगिरहेको सूचना अधिकारी थापाले बताउनुभयो ।

गत माघदेखि पुस मसान्तसम्ममा अभियुक्तबाट प्रहरीले डेढ किलो ब्राउन सुगर, २१ किलो गाँजा, नाइट्रोजन ६९७ चक्की, नाइट्रोभेट ३७ चक्की, डाइजोपाम ५२० एम्पुल, लुपिजेसिक ५३१ एम्पुल, फेनारगन ४३७ एम्पुलसहित ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।