जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १४:३५

बुधबारबाट देशभर कोरोना खोप अभियान


काठमाडौं, माघ ९

सरकारले माघ १४ गतेबाट देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने भएको छ । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप बुधबारबाट लगाउन शुरु गरिने भएको हो ।

सो खोप अहिले टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई केही दिनभित्रै प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्भवत बुधबार नै खोप अभियान शुरु गरिने बताउनु भयो ।

२ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिन्छ । पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत विवरणअनुसारको मात्रा भिन्दाभिन्दै प्याकेट बनाई हरेक जिल्लामा पठाइनेछ । केही खोप खेर जाने आकलनसहित प्रत्येक प्याकेटमा करिब १० प्रतिशत मात्रा बढी राखिनेछ ।