जनता टाइम्स

११ माघ २०७७, आईतवार १२:४६

अधिवक्ताहरुलाई प्रधानन्यायाधीशले भने : बजारका कुरामा नलाग्नुहोस्, विषयमा केन्द्रीत हुनुहोस्


काठमाडौं, माघ ११

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा बोलेको र त्यो अदालतको मानहानीको विषय भन्दै उठाउनु खोजेपछि प्रधानन्यायाधीश जबराले बाहिरका कुरा लिएर नआउन भन्नु भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको ठाडो अवहेलना भएको र व्यक्तिको मानमर्यादामा आँच पुगेको भन्दै इजलासको ध्यानाकर्षण गराउनु भएको थियो ।

संवैधानिक इजलासका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश राणाले बाहिर बजारमा आएका हल्लाको पछि लाग्ने हो भने क कसलाई इजलासमा जम्मा गर्ने भन्दै यस्ता विषय लिएर नआउन त्रिपाठीलाई सचेत गराउनु भयो । ‘अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क कसलाई जम्मा गरेर साध्य हुन्छ ? कसले के गरे, कसले के भने भन्नेतिर नजाउँ, पूर्वहरूले पनि भनिरहेका छन्’, उहाले भन्नुभयो ।

यसअघि इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोक्नु भएको थियो । उहाले यो विषय अहिले प्रवेश गराउने हो भने सरकारी पक्षलाई पनि बोल्न दिनुपर्ने र यसले विषय बाहिर जाने भन्दै रोक्नु भएको हो ।