जनता टाइम्स

११ माघ २०७७, आईतवार १७:२१

देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई चुनावबाट ठेगाना लगाइन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहितमा निरन्तर काम गर्ने तत्वहरुलाई आगामी निर्वाचनबाट ठेगाना लगाइ छोड्ने अठोट गर्नुभएको छ । राजधानीमा आज आयोजित अपाङ्गता भएका व्यक्तिसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो अठोट गर्नुभएको हो ।

‘देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई चुनावबाट ठेगाना लगाइन्छ, देश अगाडि बढ्छ, अगाडि बढाउनुपर्छ । आगामी वैशाखमा हुने निर्वाचनलाई देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने अवसरका रुपमा लिएका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जाँदा उल्टै आफूलाई तानाशाही भएको आरोप लगाएको भन्दै कडा प्रतिवाद गर्नुभयो ।

‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराउँदैछन । ती कराउने मानिसहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देशविरोधी र जनविरोधी मान्छे हुन । जो कराइरहेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशमा अस्तव्यस्ता खडा गर्ने, बहुमतको सरकार तोडेर अनि जोरजाम सरकार बनाएर स्थितरताको नाटक गर्ने ?’ उहाँले ताजा जनादेशका लागि जनतामा जाऔं भन्दा तानाशाही हुनै नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आफ्नो र अरुको काम के भयो भनेर जनताले फैसला गर्नुपर्ने धारणा पनि राख्नुभयो । ‘मैले शासन आफ्नो हातमा लिएको छैन । मैले आफ्नो हातमा लिएको भए म तानाशाही हुन्थे । जनताका बीचमा जनताको फैसला, तपाईहरुको बीचमा तपाईको फैसला गर्नुहोस भनेपछि म कसरी तानाशाही भएँ ?,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले फैसला गरेको छैन । मै शासन गर्छु भनेको छैन । मैले त जनतामा जाऊँ भनेको हुँ। मेरो काम के भयो जनताले मूल्यांकन गर्नुपर्छ र अन्य सांसदहरुले के गरे त्यो पनि जनताले फैसला गर्नुपर्छ ।’

उहाँले संसद जागिर खाने थलो नभएको तथ्य पनि राख्नुभयो । ‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ चुनिएर आएपछि । संसद भनेको जागिर हो । उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने छ । यो स्थायी जागिर हो र ?,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

सो अवसरमा उहाँले कुनै पनि नेपाली बालबालिकाको सुनिश्चित भविष्यको जिम्मा सरकारले लिने प्रतिवद्धता जनाउनु भयो । ‘हिजो सडकभरी बालबालिका हुन्थे । जसलाई ’खाते’ भन्ने गरिन्थ्यो । आज त्यो अवस्था छैन, अब कुनै पनि नेपालीका छोराछोरीले ‘खाते’ भन्ने शब्द सुन्नु र व्यहोर्नु पर्दैन । हामी नेपालीका छोराछोरी खाते हुन दिँदैनौँ । किन भने सरकारले अभिभावकको भूमिका खेल्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बिभिन्न ९ वटा संघले पठाएको ज्ञापनपत्र आफूले पाएको जानकारी दिँदै छिट्टै आवश्यक निर्णय गरेर जानकारी दिने प्रतिवद्धता पनि जनाउनु भयो ।