जनता टाइम्स

११ माघ २०७७, आईतवार २२:२१

आन्दोलनका योद्धाप्रति सरकारको ऐतिहासिक निर्णय, सम्मान र परिचयपत्रको व्यवस्था गर्न कायदल गठन


काठमाडौं, माघ ११

सरकारले बिभिन्न समयमा भएका आन्दोलनका योद्धाहरुको सम्मान र परिचयपत्र व्यबस्था गर्ने भएको छ । आन्दोलनमा लागेकै भरमा विभिन्न ठाँउमा घाइते, अंगभंग, बेपत्तासहित सहिदका परिवारलाई पनि परिचयपत्रको व्यवस्था गर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको संयोजकत्वमा योद्धाहरुको सम्मान र परिचयपत्र व्यबस्थाका गर्न कार्यदल गठन गरेको छ । ‘विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । कार्यदलमा भूमिसुधार मन्त्री शिबमाया तुम्बाहाफे र खानेपानी मन्त्री मणी थापा सदस्य रहनु भएको छ ।