जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार ११:०४

चलचित्रको रिलिजको बारेमा विवाद : जिल्ला अदालतको आदेशपछि बुधबार रिलिज हुने


काठमाडौं ।

चलचित्र रिलिजका विषयमा जिल्ला अदालतको आदेशपछि नयाँ विवाद श्रृजना भएको छ । जिल्ला अदालत काठमाडौंले हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सिनेमा रिलिजको ‘बार’ विवाद फेरि चुलिएको हो ।

नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएको थियो । विदेशी तथा नेपाली सबै फिल्म सहमतिमा शुक्रबार रिलिज हुँदै आएका थिए तर अदालतको पछिल्लो आदेशले विदेशी फिल्म जुनसुकै बार रिलिज गर्न पाउने बाटो खुला भएको छ । शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीले रिट दायर गरेका थिए ।

अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । यसअघि हिन्दी फिल्म ‘कलंक’ पनि बुधबार नै रिलिज गर्न खोज्दा विकास बोर्डको पहलमा शुक्रबार मात्रै रिलिज गर्न दिइएको थियो । अदालतको आदेशपछि सलमान खान स्टारर हिन्दी फिल्म ‘भारत’ बुधबारदेखि नै नेपालमा पनि रिलिज हुने भएको छ । यसको असर रिलिज भएका नेपाली फिल्ममा पर्नेछ ।