जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १०:३९

बामदेवले खोले एकता अभियानको भित्री कुरा, यस्तो छ नेकपालाई फेरि एकतावद्ध बनाउने सूत्र



काठमाडौं, माघ १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम एकता अभियानको भित्री राज खोल्नुभएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कू गर्न नसकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले अलग समुह खोलेपछि बिभाजित नेकपामा कतै नलाग्नु भएका उपाध्यक्ष गौतमले एकता अभियान चलाउनु भएको छ ।

केही दिनभित्रै अभियानको घोषणा गर्न लाग्नुभएका उपाध्यक्ष गौतमले आफ्नो अभियानको चुरो कुरा खोल्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। निर्वाचन आयोगले अध्यक्ष ओली र प्रचण्ड नेपाल दुबै पक्षलाई आधिकारिता दिएको छैन।

उहाँले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताउनु भयो । ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन। जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु,’ अभियानको चुरो कुरा खोल्दै गौतमले भन्नुभयो । आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको पनि उहाँले बताउनु भयो ।

‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,’ उनले भन्नुभयो । गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि भोलि माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने बताउनु भएको छ ।