जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १६:५३

दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएपछि…


परासी, माघ १५ । दुई छोरीलाई विष खुवाएर आफूले पनि बिष खाएकी आमासहित तीन जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन ।

प्रहरीका अनुसार विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको छ । विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याइएका उनीहरुको त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तिनै जनाको आज बिहान अस्पतालमा मृत्यु भएको हो ।

बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जनाले कोठामा बसेर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विष सेवन पश्चात घरभित्रबाट चिच्चाहटको आवाज आएको सनेुपछि स्थानीयवासी घरको छतबाट कोठामा पुगेका थिए । कोठामा दुई वटा चिया पिउने गिलासमा पानी जस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीलाई दिएको हुन सक्ने अनुमान प्रहरीको छ ।

मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन । चौधरीका सन्तानमा दुई छोरी मात्र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घरमा आमा–छोरी तीन जना मात्रै बस्दै आएका थिए ।