जनता टाइम्स

२२ माघ २०७७, बिहीबार १६:४२

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण


दोलखा, माघ २२

दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।

यही माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा आपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट सात वडाका दुई हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार सेवा लिनेमा एक हजार २०९ महिला र एक हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा दुई/दुई जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वास्थ्यपरीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिनुभयो ।

गाउँपालिका–१ भिरकोटका ३०५, वडा नं २ झुलेका ३१८, वडा नं ३ जफेका ४१२, वडा नं ४ मालुका ४०७, वडा नं ५ सहरेका ३००, वडा नं ६ च्यामाका ३३६ र वडा नं ७ हाँवाका २२६ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले वर्षमा दुई पटक छ महिनाको फरकमा घर-घरमा पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । हरेक नागरिकको स्वास्थ्य उपचार नैसर्गिक अधिकार भएको र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जटिल रोगबाहेक समान्य परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकाको स्वास्थ्य कार्यक्रमअन्तर्गत घरघरमा सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।

शिविरमा परीक्षण गराउँदा सामान्यबाहेक अन्य रोगको लक्ष्ण देखा परेमा स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरेको छ । स्थानीय सरकार आएसँगै घरघरमा स्वास्थ्यसेवा पाएको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । नागरिकलाई गाउँमानै सहज स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वडा नं ३ जफेमा ल्याबसमेत सञ्चालनमा ल्याएको छ ।

सामान्य बिरामीले पनि रगत तथा अन्य परीक्षण गराउनका लागि दिन बिताएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाबाटै सो सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक मिश्रले बताउनुभयो । यो सेवा प्रभावकारी बन्दै गएको पनि उहाँको भनाइ छ ।