जनता टाइम्स

२३ माघ २०७७, शुक्रबार १३:५८

नारायणहिटीबाट बादलको घोषणा : मांसहारी आन्दोलन गर्ने अपराधीहरुलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिने छ


काठमाडौं, माघ २२ । गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र पार्टीको नेतृत्वबिरुद्ध मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाघरमा लगेर थुन्ने घोषणा गर्नुभएको छ ।

नेकपाबाट अलग हुनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले अव मांसहारी आन्दोलन गर्ने घोषणा गरेको प्रसंग कोट्टयाउँदै नेकपा सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले मांसहारी आन्दोलन नेपालको कानूनले बर्जित गरेको र त्यसो गर्नेलाई चिडियाघरमा लगेर थुन्ने बताउनु भएको हो ।

‘हाम्रै पार्टीका केही अवसरवादीहरु, फूटवादीहरु, प्रतिक्रियावादीहरु मांसहारी आन्दोलन गर्छाैं भनिरहेका छन, हाम्रो नेपालको संबिधान र कानूनले अपराध घोषित गरेको छ, ती अपराधीहरुलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिने छ,’ गृहमन्त्री थापाले भन्नुभयो । उहाँले नारायणहिटी अगाडिको आमसभा गणतन्त्रलाई बलियो बनाउन आयोजना गरिएको उदघोष पनि गर्नुभयो ।
‘अवसरवादीहरुले, फूटवादीहरुले नारायणहिटीमा आमसभा गरेर राजतन्त्र ल्याउन खोज्या भन्ने भ्रम छरिरहेका छन, हामी राजतन्त्र होइन, गणतन्त्रलाई बलियो बनाउन यो ठाउँमा उपस्थित भएका छौं,’ थापाले भन्नुभयो ।