जनता टाइम्स

२३ माघ २०७७, शुक्रबार २१:३७

देश अघि बढ्यो बढ्यो भनेपछि लाग्यो केपी ओली जिन्दावादको नारा


काठमाडौं, माघ २३

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार राजधानीमा बृहत जनसभाको आयोजना भएको छ । जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा केपी ओली जिन्दाबाद, केपी ओली अघि बढ हामी तिम्रो साथमा छौं, जस्ता नारा लागेका छन् ।

नारायणहिटी संग्रहालय अगाडी भएको जनसभामा उहाले लोकतन्त्र, गणतन्त्रलाई अब कसैले पनि केही गर्छु भनेर नचिताए हुन्छ भनेर स्पष्ट सन्देश प्रवाह गर्नुभयो । ‘लोकतन्त्र सुदृढ छ किन भने नेपाली जनता सचेत छ । यहाँ कसैले कुनै हिसाबले पनि लोकतन्त्तलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आखा नलाए हुन्छ । कसैले प्रतिगमन नसोचेपनि हुन्छ । यो देश अब अघि बढ्यो बढ्यो’, प्रधानमन्त्री ओलीले यत्ति भनिनसक्दै केपी ओली जिन्दावाद, केपी ओली हामी तिम्रो साथमा छौं, जस्ता नारा लगातार घन्कियो ।

ठुलो संख्यामा उपस्थितहरुले लगातार नारा लगाएपछि नेकपा अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली आफैले हस्तक्षेप गरेर रोक्न आग्रह गर्नुभयो । त्यसपछि पनि लगातार नारा घन्किरह्यो । प्रधानमन्त्री ओलीले हातको इशारामा बस्न आग्रह पनि गर्नुभयो । तर, भिडबाट आवाज गुन्जिरह्यो । करिव एक मिनेटसम्म नारा घन्किएपछि प्रधानमन्त्री ओलीले ‘साथीहरु शान्त रहनुहोस् त मैले केही कुरामात्र राख्न छ’, भनेपछि भिड शान्त बनेको थियो ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भ्रम छर्नेका कुरा नपत्याउन आग्रह गर्दै कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताउनु भयो । ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’, ओलीले भन्नुभयो । आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उहाको भनाई थियो ।